
‘जारी’ निर्देशक तथा कवि उपेन्द्र सुब्बाले नयाँ फिल्म ‘बखत्ते’ बनाउने भएका छन् । शुक्रबार बिहान ललितपुरस्थित महालक्ष्मी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो । फ्रेन्ड्स सिनेमाज्का सञ्चालक तथा वितरक आशिष तामाङ र प्रदीपजी धामीको लगानीमा बन्ने फिल्मको छायांकन आगामी साताबाट काठमाडौंमा सुरु हुनेछ ।
आन्भी फिल्म्स र कबड्डी फिल्म्सको सहकार्यमा निर्माण हुने फिल्ममा ‘ऊनको स्वीटर’का जोडी विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा देखिनेछन् । मिरुनासँग निर्देशक सुब्बाको यो तेस्रो सहकार्य हो । यसअघि उनले मिरुनालाई लिएर ‘जारी’का दुई श्रृंखला बनाएका थिए । फिल्ममा निर्देशक सुब्बा स्वयंको लेखन रहेको छ ।
चर्चित गीत ‘काफ्ले’का रचनाकार युवराज काफ्ले कार्यकारी निर्माता रहेको फिल्ममा विपिन र मिरुनासहित शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायतको अभिनय रहनेछ । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।
फिल्मको मुहूर्त समारोहमा बोल्दै निर्देशक सुब्बाले आफूले लामो समय लिएर ‘बखत्ते’ बनाउन लागेको बताए । उनले भने, ‘मैले लामै समय लिएर ‘बखत्ते’ निर्देशन गर्न लागेको छु । यो कथा चाहिँ दर्शकले रुचाउनु हुन्छ भन्ने लागेको छ । इमान्दार भएर कथा लेखेको छु । फिल्म पनि इमान्दार भएर बनाउनेछु । आशा छ, दर्शकले पनि मन पराउनुहुनेछ ।’

