Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मदनकृष्ण श्रेष्ठको बायोपिक फिल्मको छायांकन सुरु, चैत ४ मा प्रदर्शन

फिल्मीखबर, काठमाडौं, 2026/09/18

ma madanbahadur

 

कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित फिल्म ‘म मदनकृष्ण’को छायांकन सुरु गरिएको छ । शुक्रबार बिहान ललितपुरस्थित महालक्ष्मीस्थान मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेसँगै फिल्मको छायांकन थालिएको हो । काठमाडौंसहित काभ्रेको पाँचखाल र पनौतीमा छायांकन हुने फिल्मलाई यसै वर्षको चैत ४ गते प्रदर्शन गर्ने घोषणा समेत गरिएको छ । 

‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । उनकी दिवंगत श्रीमती यशोदा सुवेदी (श्रेष्ठ)को भूमिकामा केकी अधिकारी देखिनेछिन् । त्यस्तै, मदनकृष्णका पाँच दशकदेखिका सहकर्मी हरिवंश आचार्यको भूमिका अरुण क्षेत्रीले निर्वाह गर्नेछन् भने हरिवंशकी श्रीमती रमिला पाठकको भूमिकामा वर्षा राउत देखिनेछिन् ।

राजकुमार श्रेष्ठको लगानीमा बन्ने फिल्मलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । राष्ट्रिय अवार्ड समेत जितिसकेका मिलन नेपालमा सबैभन्दा धेरै बायोपिक फिल्म बनाउने निर्देशक हुन् । उनले यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता बायोपिक फिल्म बनाइसकेका छन् । त्यसमध्ये ‘अञ्जिला’ व्यावसायिक रूपमा सफल भएको थियो ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने फिल्ममा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, सिर्जना अधिकारी, हिउँवाला गौतम, दीया जिसीलगायतको पनि अभिनय रहनेछ । फिल्ममा मदनकृष्ण श्रेष्ठको बाल्यकाल, कलाकारिता यात्रा, जागिरे जीवन, हरिवंश आचार्यसँगको मित्रतालगायतका विभिन्न पाटोलाई देखाइने जनाइएको छ ।