
‘चर्किएको यो घरले फेरि सोध्यो- यो दशैंमा पनि तिम्रो सन्तान आएन है आमा ?’
यही मर्मस्पर्शी वाक्यलाई समेट्दै फिल्म ‘आ बाट आमा २’को फर्स्टलुक पोस्टरमा सार्वजनिक गरिएको छ । सोमबार हरितालिका तीजको अवसरमा सार्वजनिक पोस्टरले फिल्मको कथावस्तुबारे संकेत दिएको छ । फिल्मका तीन मुख्य कलाकार विपना थापा, पल शाह र साइग्रेस पोखरेललाई केन्द्रमा राखिएको पोस्टरमा हाँसो, खुसी, पीडा र रोदनको मिश्रण देखिन्छ ।
ग्रामीण परिवेशलाई पृष्ठभूमिमा राखिएको पोस्टरमा पासपोर्ट, आकाशमा उडिरहेको प्लेन, चर्किएको घरको भित्ता र फुटेका फोटो फ्रेमले फिल्मको कथा वैदेशिक रोजगारी र पारिवारिक विग्रहमा आधारित रहेको संकेत गर्छ । दाजुभाइबीचको आत्मीयता र पारिवारिक खुसीलाई पनि समेटिएको पोस्टरमा लिंगे पिङ र टीका लगाएका दृश्यमार्फत दशैंको माहोल दर्शाउन खोजिएको छ ।
द्वन्द्व निर्देशकको रूपमा परिचित चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा विपना, पल र साइग्रेससहित स्व. प्रदीप रावत (गजनी भिलेन), आकाश श्रेष्ठ, सविन श्रेष्ठ, गजित विष्ट, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, नरेन खड्का, दीलिप अखेडालगायतका कलाकारहरूको अभिनय रहेको छ । भारतीय कलाकार प्रदीपको यो अन्तिम नेपाली फिल्म हो ।
आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा चन्द्र पन्तको लेखन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । नेपाल र बेलायतमा छायांकन गरिएको फिल्मको हङकङ, क्रोएसियाजस्ता देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । दशैंको अवसर पारेर असोज ३० गते प्रदर्शन हुने यो फिल्मको पहिलो भागले बक्स अफिसमा १३ करोडमाथि व्यापार गरेको थियो ।

