
डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ । साउन १ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको साढे ३ मिनेट लम्बाइको ट्रेलर मर्मस्पर्शी देखिन्छ । अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई केन्द्रमा राखिएको ट्रेलरमा महिलामाथि हुने घरेलु हिंसा र उत्पीडनलाई देखाइएको छ ।
सिम्रनको पात्रलाई पढ्न मन छ । तर, परिवारले सानै उमेरमा विवाह गरिदिन्छन् । त्यसपछि श्रीमान्को घरमा उनले भोग्नुपर्ने दुःख, पढ्नका लागि गरेको संघर्ष, सासुले दिने यातना र श्रीमान्को अस्वभाविक क्रियाकलापका कारण सामना गर्नुपर्ने कठिनाइलाई ट्रेलरले मार्मिक ढंगले प्रस्तुत गरेको छ । तपाईंलाई पारिवारिक कथावस्तु मनपर्छ भने यो फिल्म रुचिकर हुनसक्छ ।
डा. भोला रिजालको कथामा बनेको यस फिल्ममा सिम्रन र अरुणसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । बाल कलाकारमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् । सरला रिजाल कार्यकारी निर्माताको रूपमा छिन् । फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा कपिल रिजाल, निश्चल कुँवर, अभिमन्यू निरवी, शिव शर्मा, निरज नेपाल र गिरिराज घिमिरेको पटकथा तथा संवाद लेखन रहेको छ ।

