.jpg)
गत बैशाख र जेठमा नेपाली फिल्म रिलिजको चाप उच्च रह्यो । यो दुई महिनामा मात्र एक दर्जन हाराहारी फिल्म रिलिज भए । त्यसमध्ये व्यावसायिक सफलता भने ‘लालीबजार’ले मात्र हासिल गर्यो । तर, अब यो फिल्मले पनि बक्स अफिसमा दम तोडेको छ । यसैले भोलि शुक्रबारबाट देशभरका सम्पूर्ण हलबाट फिल्म उत्रिँदैछ ।
‘लालीबजार’ मात्र नभइ असार ५ गते रिलिज भएको फिल्म ‘आइएम जितबहादुर’को पनि भोलिबाट प्रदर्शन यात्रा टुंगिँदैछ । गत शुक्रबार अर्थात् असार १२ गते प्रदर्शन भएको अर्को फिल्म ‘जाँड’ पनि एक सातामै हलबाट विदा हुँदैछ । अब भोलिबाट हलमा दर्शकले एउटा मात्र नेपाली फिल्म हेर्न पाउनेछन्, ‘रोल नं. १’ । त्यो पनि सीमित हलमा ।
अब असारमा नयाँ नेपाली फिल्मको रिलिज छैन । एकैपटक साउन १ गते फिल्म ‘गौँथली’ आउँदैछ । एकातिर नयाँ फिल्म नहुनु र अर्कोतिर प्रदर्शन भइरहेका फिल्म पनि अपेक्षित रूपमा नचल्दा यतिबेला हलहरूमा नेपाली फिल्मको खडेरी देखिएको छ । तर, हल व्यावसायीहरू भने यसबाट खासै चिन्तित छैनन् । किनकि, हलमा विदेशी फिल्मको कुनै कमी छैन ।
यतिबेला हलहरूमा आधा दर्जनभन्दा बढी विदेशी फिल्म छन् । भोलिबाट थप दुई बलिउड फिल्म थपिँदैछन्, ‘अल्फा’ र ‘बेबी डु डाइ डु’ । यसमध्ये ‘अल्फा’ यशराज फिल्म्स (वाईआरएफ)को स्पाई यूनिभर्स अन्तर्गतको फिल्म भएकाले देशभरका हलहरूले उल्लेख्य मात्रामा शो उपलब्ध गराएका छन् । यही फिल्मबाट कारण ‘लालीबजार’ समेत हलबाट विस्थापित हुन लागेको हो ।
भोलिबाट हलमा नेपालीतर्फ ‘रोल नं. १’ मात्र रहँदा विदेशीतर्फ ‘अल्फा’ र ‘बेबी डु डाइ डु’सहित ‘वेलकम टू द जंगल’, ‘ककटेल २’, ‘ओब्सेसन’, ‘मिनियन्स एण्ड मोन्स्टर्स’, ‘सुपर गर्ल’, ‘कोलोनी’, ‘टोय स्टोरी ५’ र ‘सुपरम्यान’ जस्ता फिल्महरू उपलब्ध रहनेछन् । यसरी हेर्दा नेपालका हलमा विदेशी फिल्मको एकछत्र दबदबा देखिएको छ ।

