
‘हली’ भन्नासाथ धेरैले कृषक सम्झन्छन् । किनकि, यो कृषि पेशामा आबद्ध व्यक्तिलाई भनिने शब्द हो । अब यही नाममा नेपाली फिल्म निर्माण भएको छ, जुन आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउँदैछ । यो नामले फिल्मको कथा कृषकमा आधारित रहेको स्पष्ट संकेत गर्छ । यसैले यो फिल्मको खास लक्षित दर्शक खेती-किसानी गर्ने व्यक्ति हुन् ।
तर, फिल्मका निर्माताले प्रचार अभियान भने कलेज र स्कुलमा केन्द्रित गरिरहेका छन् । केही दिनदेखि फिल्मका कलाकारदेखि निर्मातासम्मले काठमाडौंका विभिन्न स्कुल र कलेजमा पुगेर विद्यार्थीहरूलाई कथावस्तुबारे जानकारी गराइरहेका छन् । फिल्मका संगीतकार बाबुल गिरीले भने सांगीतिक प्रस्तुति दिने गरेका छन् ।
निर्मात्री पूजा गुरुङ (गर्वी)का अनुसार विद्यार्थीले पनि हेर्नैपर्ने फिल्म भएकाले स्कुल र कलेजमा प्रचार गरिएको हो । अझै फिल्म रिलिजका लागि एक महिनाभन्दा बढी समय बाँकी रहेकाले चाँडै कृषकलक्षित प्रचार अभियान पनि चलाउने उनले बताइन् । त्यसको सुरुवात असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा धान रोपेर गरिएको उनको भनाइ छ ।
ओम प्रतीकको निर्देशनमा बनेको यस फिल्ममा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै स्वयम् निर्देशक प्रतीकको पनि अभिनय रहेको छ । पूजा गुरुङ र जस्मिन श्रेष्ठ निर्माता रहेको फिल्मले कृषकको संघर्ष र छाउपडी प्रथाको कथा पेस गरेको छ ।

