.jpg)
यतिबेला दर्शकमा कुनै फिल्मको प्रदर्शन मितिलाई लिएर सर्वाधिक चासो छ भने त्यो ‘आचार्य’को हो । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको यो फिल्मको छायांकन सकिएको ४−५ महिना भइसकेको छ । तर, अहिलेसम्म निखिलले फिल्मको प्रदर्शन मिति घोषणा गरेका छैनन् । उनले दशैंअघि फिल्म रिलिज हुने जानकारी भने गराउँदै आएका छन् ।
निखिलले दर्शकलाई फिल्मको प्रदर्शन मितिबारे जानकारी नगराए पनि उनले एउटा मिति भने तय गरिसकेका छन् । केही दिनमा फर्स्टलुक पोस्टरमार्फत त्यसबारे जानकारी गराउने तयारीमा उनी छन् । उनले आगामी साउन २९ गते फिल्म प्रदर्शन गर्न लागेको निकट स्रोतको दाबी छ । भदौ महिनामा पर्ने चाडपर्वलाई लक्षित गरेर उनले फिल्म रिलिज गर्न लागेका हुन् ।
सोमबार सञ्चारकर्मीसँगको एक भेटमा निखिल स्वयंले साउनमा फिल्म आउन सक्ने संकेत गरे । उनले भने− ‘फिल्मको टेक्निकल काम अलि अप्ठ्यारो छ । त्यसमा ‘डे−नाइट’ नै काम गरिररहेका छौं । ब्याकग्राउन्डको काम बाहिर भइरहेको छ । ग्राफिक्सको काम त्यत्तिकै छ । त्यो सही समय आउँछ कि आउँदैन भनेरै मिति नतोकेका हौं । साउनमा चाहिँ फिल्म आउनुपर्ने हो ।’
‘आचार्य’बाट निखिल ११ वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि उनले सन् २०१५ मा ‘भैरव’ निर्देशन गरेका थिए । फिल्ममा निखिलसहित सञ्चिता लुईंटेल, पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारीलगायतका कलाकारहरूको अभिनय रहेको छ । भारतीय कलाकार दीपराज राणाको पनि फिल्ममा मुख्य भूमिका छ ।

