.jpg)
गणतन्त्र दिवसको अवसर पारेर गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं. १’ले घरेलु बक्स अफिसमा डेढ करोडको आँकडा पार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणमा हिजो आइतबार (७ असार)सम्म फिल्मको कुल कमाइ १ करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ ग्रस देखिएको छ ।
‘रोल नं. १’ले अघिल्लो आइतबार अर्थात् जेठ ३१ गतेसम्म १ करोड ३५ लाख १५ हजार ९९३ रुपैयाँ ग्रस कमाइ गरेको थियो । यो हिसाबले पछिल्लो ७ दिनमा फिल्मले २० लाख ३० हजार ६७५ रुपैयाँ कमाएको छ । असार ७ गतेसम्म फिल्मका ५७ हजार १३२ वटा टिकट बिक्री भएको बोर्डको तथ्यांकमा देखिन्छ ।
गत वैशाख २५ गते प्रदर्शनमा आएको ‘लालीबजार’ले भने ७ असारसम्म ९ करोड २८ लाख १४ हजार ५०५ रुपैयाँ ग्रस कमाएको छ । अघिल्लो आइतबारसम्म ९ करोड १६ लाख ६५५ रुपैयाँ कमाएको फिल्मले पछिल्लो ७ दिनमा १२ लाख १३ हजार ८५० रुपैयाँ कमाइ गरेको देखिन्छ । यसका अहिलेसम्म ३ लाख १५ हजार ७२४ वटा टिकट बिक्री भएका छन् ।
त्यस्तै, जेठ १५ गतेबाट प्रदर्शनमा आएको ‘कुम्भ’ले आइतबारसम्म ४ लाख २५ हजार ८८५ रुपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा उल्लेख छ । यो कमाइ १ हजार ८१५ वटा टिकट बिक्रीबापत भएको हो । यसले पछिल्लो ७ दिनमा जम्मा ३४ हजार ८७५ रुपैयाँ मात्र कमाएको छ । योसँगै ‘कुम्भ’ यस वर्षको सबैभन्दा कम कमाउने फिल्म बनेको छ ।

