
संविधान दिवसको अवसर पारेर असोज २ गते (१८ सेप्टेम्बर)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’ले अब प्रचार अभियानलाई तीव्रता दिने भएको छ । त्यसका लागि सोमबार फिल्मका तीनवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य कलाकारहरूलाई समेटिएको पोस्टरले यसको कथावस्तुबारे संकेत गरेको छ ।
एक पोस्टरमा महेश त्रिपाठी र कुशल विष्टले हिउँवाला गौतमको सामु हात जोड्दै माफी मागेको देख्न सकिन्छ । सोही पोस्टरमा केकी अधिकारी र आँचल शर्मा झ्यालबाट टाउको निकालेर खुसी मुद्रामा देखिएका छन् । अर्को पोस्टरमा भने दशैंको माहोल देखाइएको छ, जहाँ पिर्के पिङदेखि चङ्गासम्मका दृश्य छन् ।
तेस्रो पोस्टरमा आर्यन सिग्देललाई पनि स्थान दिइएको छ । उनको लुक्सले दर्शकलाई फिल्मप्रति कौतुहलता बढाउने देखिन्छ । ढाका टोपी र पावरवाला चस्मा लगाएका उनी गाउँको मुखियाको भूमिकामा हुनसक्ने अनुमान लगाउन सकिन्छ । फिल्मका तीन पोस्टर हेर्दा यसको कथा पारिवारिक सम्बन्धमा आउने उतारचढाव र भावनात्मक द्वन्द्वमा केन्द्रित रहेको देखिन्छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यस फिल्ममा सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, विनोद कुमार पौडेललगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मका निर्माताहरू सुलभ प्रतिक, प्रतिक देउजा, समिक्षा देउजा हुन् ।

