.jpg)
नेपालका गिनेचुनेका सफल निर्देशकमध्ये एक हुन्, दिनेश राउत । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’, ‘पुजार सार्की’ जस्ता फिल्मबाट आफूलाई निर्देशनमा अब्बल सावित गरेका उनी आफ्ना पछिल्ला दुई फिल्म ‘महाभोज’ र ‘कुमारी’को असफलतापछि भने एकाएक हराएका छन् । उनी आफ्नो फेसबुक पेज समेत निस्क्रिय (अस्थायी ब्लक) गरेर बसेका छन् ।
‘कुमारी’ले अपेक्षाअनुसार बक्स अफिसमा प्रदर्शन गर्न नसकेपछि उनले हालसम्म निर्देशनका कुनै पनि नयाँ प्रस्ताव स्वीकार गरेका छैनन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार उनले एक वर्षअघि नै कागजी सम्झौता गरेका दुईवटा फिल्मबाट समेत हात झिकेका छन् । त्यसमध्ये एउटा विवेक ओझाको लेखन रहेको फिल्म हो भने अर्को शान बस्न्यातले लेखेको फिल्म हो ।
उनी ‘कुमारी’ रिलिजलगत्तै मदन पुरस्कार विजेता विवेक ओझाले लेखेको स्क्रिप्टमा फिल्म बनाउने तयारीमा थिए । स्क्रिप्ट पूर्ण रुपमा तयार समेत भइसकेको छ । तर, ‘कुमारी’ले ठूलो व्यावसायिक असफलता बेहोरेपछि निराश भएका उनले केही साताअघि उक्त फिल्म नगर्ने जानकारी निर्माता र लेखकलाई गराइसकेको निकट स्रोतको दाबी छ ।
एकातिर अफर आएका नयाँ फिल्महरू लगातार अस्वीकार गर्नु र अर्कोतिर सम्झौता गरिसकेका फिल्मबाट समेत हात झिक्नुले उनी अब निर्देशनबाट सन्न्यास वा लामो विश्राम लिने निर्णयमा त पुगेका होइनन् भन्ने आशंका उब्जिएको छ । तर, अहिलेसम्म उनले यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । अब सबैको नजर उनको आगामी निर्णयतर्फ केन्द्रित छ ।

