
बादी महिलाको संघर्षको कथामा आधारित फिल्म ‘लालीबजार’ विरुद्धको मुद्धाको पेशी सरेको छ । मंगलबार भएको सुनुवाइपछि उच्च अदालत पाटनका न्यायाधीश द्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले चलचित्र जाँच समिति (सेन्सर बोर्ड)लाई सेन्सरसम्बन्धी सक्कल कपी पेस गर्न आदेश दिँदै बुधबारका लागि पेशी तोकेको हो ।
बादी समुदायको तर्फबाट रोशनी नेपालीले दायर गरेको मुद्धाको आधारमा उच्च अदालत पाटनले वैशाख १५ गते फिल्मको प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै वादी र प्रतिवादी दुवै पक्षलाई मंगलबार (आज) छलफलका लागि बोलाएको थियो । अदालतको आदेशपछि वैशाख १८ गते हलमा लाग्ने तयारीमा रहेको ‘लालीबजार’को प्रदर्शन रोकिएको थियो ।
वैशाख १४ गते रोशनी नेपालीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै अदालतमा रिट दायर गरेकी थिइन् । त्यसअघि उनले सेन्सर बोर्डमा फिल्म हेरेकी थिइन् । उनले पत्रकार सम्मेलन समेत गर्दै बादी समुदायको पीडा र घाउलाई निचोरेर फिल्म बनाइएको आरोप लगाएकी थिइन् । उनले फिल्मले बादी समुदायको नैतिकताको हत्या गर्ने दाबी समेत गरेकी थिइन् ।
उच्च अदालतले फिल्मको प्रदर्शन रोक्न आदेश दिएपछि फिल्मकर्मीहरूले गत बुधबार अभिव्यक्ति स्वतन्त्रताको पक्षमा मौन प्रदर्शन गरेका थिए । काठमाडौंको माइतीघर मण्डलामा अशोक शर्मा, स्वस्तिमा खड्का, निश्चल बस्नेत, प्रदीप भट्टराई, खगेन्द्र लामिछाने लगायतले कालो पट्टी बाँधेर अदालतको निर्णयको विरोध गरेका थिए ।

