Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने

फिल्मीखबर, काठमाडौं, 2026/05/01

anmol kc and paul shah

 

नेपालमा फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त समय दशैंलाई मानिन्छ । लामो विदा र दर्शक ‘फेस्टिभ मुड’मा हुने भएकाले दशैंमा राम्रो व्यापार हुने विश्वास निर्माताहरूमा छ । यसैले वर्षेनि दशैंमा फिल्म रिलिज गर्न ठूलै रस्साकस्सी हुने गरेको छ । केही वर्षयता दशैंको अवसरमा दुईभन्दा बढी फिल्म रिलिज हुँदै आएका छन् । यस वर्ष पनि त्यही अवस्था दोहोरिने देखिएको छ । 

अहिलेसम्म यसपालिको दशैंमा ‘१२ गाउँ २’, ‘छ माया छपक्कै २’, ‘बाटुलो जून’, ‘आ बाट आमा २’ र ‘महाराजधिराज’ गरी पाँच फिल्म प्रदर्शनमा आउने तयारीमा छ । यसमध्ये ‘बाटुलो जून’ असोज ३० गते प्रदर्शन हुँदैछ । अर्थात् फूलपातीको अघिल्लो दिन । यो फिल्मको केही साताअघि पोस्टर सार्वजनिक गर्दै ३० असोजलाई प्रदर्शन मिति तय गरिएको थियो ।

अब सोही मितिमा ‘आ बाट आमा २’ पनि प्रदर्शन हुने भएको छ । शुक्रबार यस फिल्मका निर्माता तथा निर्देशक चन्द्र पन्तले भक्तपुरको नगरकोटमा स्क्रिप्टमाथि छलफल भइरहेका केही तस्वीर फेसबुकमा पोस्ट गर्दै उक्त मितिमा फिल्म प्रदर्शन हुने घोषणा गरेका हुन् । यसअघि दशैंमा फिल्म आउने जानकारी गराइए पनि प्रदर्शन मिति खुलाइएको थिएन । 

‘आ बाट आमा २’ असोज ३० गते प्रदर्शनमा आउने तय भएसँगै अब बक्स अफिसमा दुई सुपरस्टार अनमोल केसी र पल शाहबीच भिडन्त हुने भएको छ । ‘बाटुलो जून’मा अनमोलको मुख्य भूमिका रहेको छ भने छायांकनको तयारीमा रहेको ‘आ बाट आमा २’मा पल देखिँदैछन् । यो भिडन्त दुई फिल्मबीचको नभइ अनमोल र पलको स्टारडमबीच हुने विश्लेषण गरिएको छ ।

अनमोल र पलको फिल्म पहिलो पटक बक्स अफिसमा ‘क्ल्यास’ हुन लागेका भने होइनन् । यसअघि उनीहरूका दुई फिल्म ‘फर्की फर्की’ र ‘पूजार सार्की’ २०८१ सालमा एकसाथ प्रदर्शनमा आएका थिए । त्यसबेला व्यावसायिक रूपमा ‘पूजार सार्की’ले बाजी मारेको थियो । अब दोस्रो पटकको भिडन्तमा कसको पल्ला भारी हुन्छ, त्यसका लागि भने असोज ३० गतेसम्म पर्खिनै पर्ने हुन्छ । 

 

aa bata aama 2