Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रोल नं १’को टिजरलाई दर्शक प्रतिक्रिया- ‘मनले हेर्नुपर्ने फिल्म’

फिल्मीखबर, काठमाडौं, 2026/05/03

Roll No. 1

 

हरेक विद्यार्थीको कथा भनिएको फिल्म ‘रोल नं १’को टिजरले दर्शकलाई आकर्षित गर्न सफल भएको छ । बिहीबार सार्वजनिक भएको टिजरले युट्युबमा पाएको भ्यूज र दर्शकीय प्रतिक्रिया लोभलाग्दो देखिन्छ । यो समाचार तयार पार्दासम्म टिजरलाई ७ लाखभन्दा बढीले हेरिसकेका छन् भने प्रतिक्रियामा बहुसंख्यकले कथावस्तु र कलाकारहरूको अभिनयको तारिफ गरेका छन् । 

टिजर हेरेपछि कतिपयले फिल्मलाई अर्को ‘ब्लकबस्टर’को संज्ञा दिँदै हलमा फिल्म हेर्न आतुर रहेको बताएका छन् । केही युट्युब प्रयोगकर्ताले भने सशक्त कथालाई पर्दामा प्रस्तुत गरेकोमा निर्माता तथा निर्देशकलाई धन्यवाद व्यक्त गरेका छन् । यो फिल्म आमाबुबा र शिक्षक-शिक्षिकाले आँखाले मात्र नभई मनले हेर्नुपर्ने सुझाव पनि धेरैले दिएका छन् ।

टिजर हेरेपछि आर्यन सुनार नामका युट्युब प्रयोगकर्ताले निर्माण पक्षलाई फिल्मको प्रचार व्यापक बनाउन सुझाव समेत दिएका छन्, जुन निकै अर्थपूर्ण देखिन्छ । ती प्रयोगकर्ता लेख्छन्, ‘राम्रोसँग प्रचारप्रसार गर्‍यो भने यो फिल्मले धेरै राम्रो विजनेस गर्छ, नेक्स्ट ‘पूर्ण बहादुरको सारङ्गी’जस्तै हुन्छ । तर, प्रचारप्रसार एकदम व्यापक गर्नुपर्छ । फिल्मको कहानीमा दम छ ।’ 

टिजरकै आधारमा दर्शकले फिल्मको कथावस्तु र सम्भावित व्यापारबारे अनुमान तथा विश्लेषण गर्नु सकारात्मक पक्ष हो । यसले टिजरले दर्शकमा गहिरो प्रभाव पारेको प्रस्ट संकेत गर्छ । टिजरप्रतिको प्रतिक्रियाले निर्मातालाई ट्रेलर थप सशक्त ल्याउनुपर्ने दबाब सिर्जना गरेको छ भने फिल्मले दर्शकको अपेक्षा पूरा गर्नुपर्ने चुनौती पनि थपिएको छ ।

जोन योञ्जनको निर्देशनमा बनेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ । महेश दवाडीको लेखन रहेको फिल्मलाई विनोद पौडेल र जान्वी पौडेलले निर्माण गरेका हुन् । यो फिल्म आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउँदैछ ।