Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तमिलनाडुका मुख्यमन्त्री बन्दैछन् विजय ?

एजेन्सी, काठमाडौं, 2026/05/05

 

भारतमा २३ अप्रिलमा भएको पाँच राज्यको विधानसभा चुनावमा तमिलनाडुको नतिजाले भने धेरैलाई आश्चर्यमा पारेको छ । तमिल सुपरस्टार थलापति विजय (सी. जोसेफ)ले नेतृत्व गरेको २ वर्ष पुरानो पार्टी तमिलगा वेत्री कजगम (टीविके)ले सत्तारूढ द्रविड मुन्नेत्र कझगम (डिएमके)को समीकरण नै ध्वस्त पारेको छ । विजयले पार्टीले कुल २३४ सिटमा १०८ सिट जितेको छ । 

विधानसभा चुनावमा ऐतिहासिक जित निकाल्दै ‘टीविके’ तमिलनाडुको सबैभन्दा ठूलो पार्टी बनेको छ भने विजय स्वयंले पेरम्बुर र तिरुचिरापल्ली पूर्व गरी दुई क्षेत्रबाट फराकिलो मतान्तरसहित जित हासिल गरेका छन् । योसँगै उनी तमिलनाडुको भावी मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको छ । तर, उनको पार्टीलाई एकल सरकार बनाउन बहुमत भने नपुग्ने देखिन्छ ।

तमिलनाडु राज्यमा सरकार बनाउनका लागि जादुयी आँकडा ११८ हो । यस्तोमा विजयको पार्टी बहुमतबाट १० सिटले पछि परेको छ । यो अवस्थामा ‘टीविके’ले अब अन्य पार्टी वा स्वतन्त्र सांसदको समर्थन जुटाएर सरकार बनाउनुपर्ने हुन्छ । विजयले चुनावअघि नै सत्तारूढ ‘डिएमके’ र ‘एनडीए’सँग भने गठबन्धन नगर्ने घोषणा गरिसकेका छन् । 

तमिलनाडुको हालको राजनीतिक समीकरणले भने ‘टीविके’ र अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम (एडिएमके)बीच नयाँ गठबन्धनतर्फ संकेत गरिरहेको छ । चुनावअघि पनि यी दुई दलबीच गठबन्धनको प्रयास भएको थियो, तर त्यतिबेला विजयले राज्यका आधाभन्दा बढी सिट माग्नुका साथै आफूलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान नछाडेपछि सहमति हुन सकेको थिएन । 

तर, चुनावी नतिजापछि ‘एडिएमके’ विजयको पार्टीसँग गठबन्धन गर्न सकारात्मक देखिएको छ । त्यसको पछाडिको कारण ‘डिएमके’लाई सत्ताबाट बाहिर राख्नु हो । पार्टीकी प्रवक्ता अप्सरा रेड्डीले समेत ‘डिएमके’लाई सत्ताबाहिर राख्न गठबन्धनबारे सोच्न सकिने बताएकी छन् । यी दुई पार्टीबीच गठबन्धन भएको खण्डमा विजय तमिलनाडुको नयाँ मुख्यमन्त्री बन्नेछन् । 

विजयका लागि सत्तासम्म पुग्ने अर्को व्यावहारिक विकल्प भनेको ठूला दलसँग गठबन्धन गर्नुको सट्टा साना तर निर्णायक सहयोगी दलहरूसँग हातेमालो गर्नु हो । उनले पीएमके, डीएमडीके, र एएमएमके जस्ता क्षेत्रीय दलहरूलाई सम्मानजनक सहभागिताको प्रस्ताव दिए भने यी दलहरू ‘किङ मेकर’को भूमिका खेल्दै ‘टीविके’को साथमा उभिन सक्छन् ।

आफ्नो करिअरमा ६० भन्दा बढी फिल्ममा अभिनय गरेका विजयले राजनीतिक दल खोल्नुभन्दा अघि नै अभिनयबाट सन्न्यास लिएका थिए । अब उनी पूर्ण रूपमा राजनीतिमा केन्द्रित हुनेछन् । उनको अन्तिम फिल्म ‘जन नायगन’ (जन नेता) कानुनी झमेलामा फसेका कारण प्रदर्शन हुन सकेको छैन । यो फिल्मका लागि उनले २७५ करोड भारु पारिश्रमिक बुझेका थिए ।

Most Visited News (monthly)