Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लालीबजार’मा यौनकर्मीको भूमिकामा हुन् स्वस्तिमा ?

फिल्मीखबर, काठमाडौं, 2025/06/24

Lalibazaar Official First Look Poster - Swastima Khadka

 

‘जात्रा’ श्रृंखलाको निर्माता कम्पनी षट्कोण आर्ट्सले निर्माण गर्न लागेको नयाँ फिल्म ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिने भएकी छन् । मंगलबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको प्रवेशबारे जानकारी गराएको हो । 

पोस्टरमा स्वस्तिमा गर्भवती महिलाको रूपमा देखिएकी छन् । तर, उनी विवाहित रहेको झल्किने न सिउँदोमा सिन्दूर छ न गलामा मंगलसूत्र देखिन्छ । उनी ढोकाबाट बाहिर हेरिरहेको अवस्थामा चित्रित छिन् । उनको श्रृंगार, हाउभाउ र पहिरनले फिल्ममा उनी यौनकर्मीको भूमिकामा देखिन लागेको संकेत गर्छ । यद्यपि, यसबारेमा कुनै जानकारी गराइएको छैन ।

फर्स्टलुक पोस्टरसँगै निर्माण पक्षले आगामी फागुन १ गतेलाई फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’लाई रवीन्द्र सिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् । फिल्मको छायांकन दशैं लगत्तै सुरु हुने जनाइएको छ । 

स्वस्तिमाले फिल्मको कथावस्तु र निर्माण टिमको कारण आफू फरक भूमिकामा प्रस्तुत हुन तयार भएको बताएकी छन् । उनले भनिन्, ‘मेरा अघिल्ला फिल्मभन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ । पोस्टरले पनि धेरै कुरा भनेको छ । म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’