
हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डविरुद्ध ६ हप्तादेखि चलिरहेको मानहानीको मुद्धामा भर्जिनियाको एक अदालतले फैसला सुनाएको छ । फैसला जोनीको पक्षमा आएको छ । अदालतले डेपलाई क्षतिपूर्तिको रुपमा हर्डले १५ मिलियन डलर दिनुपर्ने फैसला सुनाएको छ । त्यस्तै, हर्डलाई पनि क्षतिपूर्तिको रुपमा २ मिलियन डलर दिने फैसला अदालतले गरेको छ ।
हर्डले डेपको विरुद्ध घरेलू हिंसाको मुद्धा अदालतमा दर्ता गराएकी थिइन् । यसपछि जोनीले हर्डविरुद्ध मानहानीको मुद्धा हालेका थिए । हर्डले जोनीविरुद्ध दुर्व्यवहार र मानसिक उत्पीडनको दाबी गरेपनि अदालतले त्यसमा सत्यता नभएको निष्कर्ष निकालेको हो । यो फैसलाले आफ्नो दिल टुटेको हर्डले बताएकी छन् भने डेपले आफ्नो जिन्दगी फिर्ता पाएकोमा खुशी व्यक्त गरेका छन् ।
हर्डले २०१८ मा यौन शोषणमाथि डेपको विरुद्ध आर्टिकल लेखेकी थिइन् । यो आर्टिकलबाट डेपको प्रतिष्ठामा ठेस पुगेको र हर्डले दुर्भावनापूर्ण नियतले आर्टिकल लेखेको भन्दै अदालतको जूरीले डेप र हर्ड दुवैलाई मानहानीका लागि जिम्मेवार मानेको छ । डेपको वकिल एडम वाल्डम्यानले हर्डको प्रतिष्ठामा ठेस पुग्ने गरी बयान दिएकाले उनले २ मिलियन डलर क्षतिपूर्ति पाएकी हुन् ।
अपेक्षाविपरित अदालतको फैसला आएपछि एम्बर हर्डले आफूमाथि भएका असीमित प्रमाणहरु पनि आफ्नो पूर्व पतिको असीमित शक्ति, प्रभाव र बोलबालाको सामना गर्न पर्याप्त नभएकोमा दुःख व्यक्त गरेकी छन् । हर्ड र डेपले सन् २०१५ मा विवाह गरेका थिए । मे, २०१६ मा हर्डले डेपविरुद्ध घरेलू हिंसाको आरोप लगाएकी थिइन् र सन् २०१७ मा उनीहरुको डिभोर्स भएको थियो ।

