एक समय फिल्ममा आफूलाई व्यस्त राखेकी अभिनेत्री निशा अधिकारी विवाह बन्धनमा बाँधिएर आमा भएपछि करीब चार वर्ष अभिनयबाट टाढा बसिन् । छोरालाई स्कूल पठाउन थालेपछि भने उनले अभिनयमा सक्रियता बढाउन थालेकी छन् । कोरोना महामारीयता उनले दुई फिल्म ‘म’ र ‘जुलेवी’को छायांकन भ्याइसकेकी छन् भने चाँडै फिल्म ‘आँखा’मा काम गर्ने तयारीमा छिन् ।
कुनै बेला लिड अभिनेत्रीको रुपमा काम गरेकी निशाले आमा भएपछि चरित्र अभिनेत्रीको प्रस्ताव बढी पाइरहेकी छन् । यसलाई उनले सामान्य रुपमा नै लिएकी छन् । समय अनुसार क्यारेक्टरमा परिवर्तन हुनुपर्ने उनको तर्क छ । पछिल्लो समय मेकरहरुले क्यारेक्टर छनोट फराकिलो बनाएकाले आफूलाई रमाइलो लाग्ने चरित्रमा काम गर्न कलाकारलाई छुट रहेको उनको भनाई छ ।

आफूलाई पर्दामा आमाको भूमिकामा अभिनय गर्न पनि समस्या नभएको उनी बताउँछिन् । उनले भनेकी छन्, ‘मैले बिहे गर्नुभन्दा अगाडि फिल्म ‘मायाज् बार’मा आमाको भूमिका निर्वाह गरेको थिएँ । बिहे अगाडि त आमाको भूमिकामा काम गर्न समस्या भएन भने अहिले झन् किन हुन्थ्यो र !’ बरु, अहिले आफूले फिल्ममा आमाको भूमिका न्यायपूर्वक निर्वाह गर्न सक्ने उनको विश्वास छ ।
अहिलेसम्म आफ्नो करिअर सुरु नै नभएको निशा बताउँँछिन् । ‘मेरो खास रुचि मेकिङमा हो । मैले फिल्म ‘झ्यानाकुटी’ निर्माण गरेपछि बिहे र बच्चा भयो । बीचमा एउटा सर्ट फिल्म निर्देशन गरेँ । त्यसपछि कोरोना महामारी सुरु भयो । त्यसैले मैले करिअर नै सुरु गर्न पाएको छैन,’ उनी भन्छिन्, ‘मेकरको हिसाबले मलाई जस्तो विषयमा फिल्म बनाउन मन छ त्यो छुन पनि पाएको छैन ।’
छोरा भर्खर ४ वर्षको भएकाले अहिले नै आफूले फिल्मका लागि ३०/४० दिनको समय निकाल्न नसक्ने निशाको भनाई छ । तर, उनले आफूलाई कुनै पनि क्यारेक्टर गर्न समस्या नभएको स्पष्ट पारेकी छन् । कलाकार भएपछि जुनसुकै भूमिकामा काम गर्नुपर्ने उनको कथन छ । अहिले आफूले राम्रो कथावस्तु भएका फिल्महरुमा काम गर्न पाएकोमा पनि उनले खुशी व्यक्त गरेकी छन् ।

