गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण भएको छ । इङ्गल्याण्ड र बेलायतमा सम्पूर्ण छायांकन भएको फिल्मको यतिबेला लन्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । फिल्मलाई आगामी साउन मध्यतिर प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलीपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।
निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जलीका लागि फिल्म निर्माण गरेको बताए । उनले भने, ‘फिल्मले गोर्खालीहरु जति बहादुर छन् त्यति नै दयालु हृदयका पनि छन् भन्ने देखाएका छौं । विश्व युद्धमा घाइतीहरुलाई गोर्खा सैनिकले नै उद्दार गरेका थिए, सोही कुरा फिल्मको विषय हो । आत्म-त्याग, करुणा र मित्रताको कथामा फिल्म बनेको हो ।’
शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेका छन् ।

क्षितिज सुवेदी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । गोर्खालीको सत्य घटनामा आधारित फिल्ममा जोडिन पाउनु सौभाग्य रहेको सुवेदीले बताए । फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।

