Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दुर्व्यवहार’ गर्ने व्यक्तिलाई भिक्षुको भेषमा देखेपछि झनै रिस उठ्यो : मिरुना मगर

फिल्मीखबर, काठमाडौं, 2022/05/31
फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को सफलताले अभिनेत्री मिरुना मगरको खुशीको सीमा छैन । करिअरमा पहिलो पटक उनले सफलताको सुःख पाएकी हुन् । डेब्यू फिल्म ‘लालपूर्जा’यता उनी अभिनीत फिल्म सफल हुन सकेका थिएनन् । पहिलो पटक आफ्नो फिल्मले बक्सअफिसमा रेकर्डतोड व्यापार गरेपछि उनी विभिन्न सिनेमा हलहरुमा पुगेर दर्शकसँग खुशी साटिरहेकी छन् ।
 
miruna magar
 
आइतवार उनी हल भ्रमणको क्रममा काठमाडौंस्थित सिभिल मलमा पुगेकी थिइन् । उनलाई देखेपछि सेल्फी खिच्ने दर्शकहरुको ठूलो भीड लाग्यो । । फ्यानहरुसँग सेल्फीमा रमाइरहेको बेला उनले अचानक आफूमाथि दुर्व्यवहार गरेको भन्दै एक बौद्ध भिक्षु (फुर्वा तामाङ) माथि थप्पड बजारिन् । पछि ती व्यक्तिलाई उनले प्रहरीको जिम्मा लगाइन् । अहिले फुर्वा प्रहरी हिरासतमा छन् ।
 
मिरुनाले बौद्ध भिक्षुमाथि हात उठाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्नखाले प्रतिक्रिया आइरहेका छन् । कसैले भिक्षुको नियत नै गलत रहेको बताएका छन् भने कतिले भिक्षुको दोष नभएको भन्दै मिरुनामाथि गालीगलौज गरेका छन् । मंगलवार चाबहिलस्थित केएल टावरको अगाडि बौद्ध भिक्षुहरुले मिरुनाविरुद्ध नाराबाजी गर्दै ‘कबड्डी ४’को पोस्टर समेत जलाए ।
 
आखिर मिरुनामाथि वास्तवमा भएको के थियो ? उनीले हात नै उठाउनु पर्ने अवस्था कसरी सृजना भयो ? बौद्ध भिक्षुले गल्ती स्वीकार गर्दै माफी मागिसके पनि प्रहरीको जिम्मा लगाउने निर्णय मिरुनाले किन गरिन् ? हालै एक अन्तर्वार्तामा उनले आफूमाथि भएको ‘दुर्व्यवहार’को बारेमा बेलिविस्तार लगाएकी छन् । उनले भनेको कुरा हामीले यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । 
 
हलमा धेरै नै भीड थियो । भीडमा छुने त भइहाल्छ नै । तर, त्यहाँ म फ्यानहरुसँग अगाडि फर्किएर सेल्फी खिचिरहेको थिएँ । त्यसबेला मलाई पछाडि कसैले छोएको महसुस भयो । म झस्किएँ र अलिकता अगाडि सरेँ । दोस्रो चोटी पनि यस्तै भयो । तेस्रो पटक चाहिँ मलाई कसैले ‘दुर्व्यवहार’ नै गरेको महसुस भएपछि मैले थप्पड हानेको हुँ । 
 
ती व्यक्तिलाई भिक्षुको भेषमा देखेपछि मलाई झनै रिस उठ्यो । किनकि, म पनि बुद्धिष्ट हो । हेर्दा मभन्दा उमेरले सानो लागेपछि सबैको अगाडि कराएँ पनि । त्यसबेला मैले कलाकारको रुपमा नभइ मानव भएको हिसाबले आफूमाथि भएको ‘दुर्व्यवहार’को प्रतिवाद गरेँ । उसले मसँग माफी पनि माग्यो । मैले उसलाई छाड्न पनि खोजेको थिएँ । तर, पछि म आफैंलाई लाज लाग्यो । किनकि, त्यहाँ सबैले भिडियो रेकर्ड गर्नुभएको थियो । बाहिर निस्किएर म रोएँ पनि । आफैंलाई कमजोर महसुस गरेँ । त्यो व्यक्ति हाँसीखुशी बाहिर रमाइरहेको देखेपछि मेरो चित्त बुझेन र मैले कानुनको सहायता लिनुपर्छ भन्ने लागेर प्रहरीको जिम्मा लगाएँ ।
 
अहिले मेरोबारेमा विभिन्न खाले टिका-टिप्पणी भइरहेका छन् । मेरो चरित्रमाथि समेत प्रश्न उठाइएको छ । भिडियोमा सानो क्लिप्स हेरेको भरमा मलाई गालीगलौज गरिएको छ । भिडियोमा मैले उहाँ भिक्षुलाई कराइरहेको मात्र देखिएको छ, त्यसैले ममाथि गालीगलौज भएको होला । मलाई थ्रेट पनि आएको छ । 
 
यो केश कानुनी रुपमा अगाडि बढोस् भन्दा पनि यो घटनाबाट उस (बौद्ध भिक्षु) ले लेसन सिकोस् भन्ने लाग्छ । यस्तो घटना कसैमाथि नदोहोरियोस् र उसले पनि भोलीका दिनमा यस्तो कसैलाई नगरोस् । भिडियोमा आधी कुरा मात्र हेरेर एकतर्फी धारणा बनाउनु राम्रो होइन । जतिले पनि मलाई गाली गरिरहनुभएको छ, तपाईंहरुको दिदी-बहिनीलाई यस्तो भएको अवस्थामा आवाज उठाउनु पर्छ भनेर सिकाउनुहोला । 
Most Visited News (monthly)