Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’मा फिल्मकर्मीलाई सम्मान

फिल्मीखबर, काठमाडौं, 2022/05/30
आइतवारबाट काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा ‘१०औं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२’ सुरु भएको छ । नेपालसहित १५ देशका २६ फिल्महरु सहभागी महोत्सव मंगलवार (भोली) सम्म जारी रहनेछ । महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अफ्रिका जस्तै देशबाट फिल्म संकलन गरेर नेपालमा महोत्सव गर्नु सराहनीय कार्य रहेको बताए ।
 
nepal africa film festival 2022 (1)
 
आयोजक संस्थाकी अध्यक्ष तथा महोत्सव संयोजक डा. मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको फिल्म संस्कृति आदान-प्रदानकै लागि विगत एक दशकदेखि महोत्सव आयोजना गर्दै आएको बताइन् । आफ्नै गोजीबाट पैसा हालेर महोत्सव गर्न गाह्रो हुन थालेको बताउँदै उनले राज्यबाट महोत्सवका लागि कुनै खालको सहयोग नमिलेको गुनासो पोखिन् । 
 
यस्तै, प्रतिनिधि सभाकी सांसद मन जिसीले नेपाल र अफ्रिकाको संस्कृति आदान-प्रदानको लागि यो महोत्सव उपयोगी हुने धारणा व्यक्त गरिन् । यसप्रकारका महोत्सवलाई सघाउन आफूले संसदमा आवाज उठाउने पनि उनले प्रतिबद्धता जनाएकी छन् । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले निजी स्तरबाट भएका अन्तर्राष्ट्रियस्तरका चलचित्र महोत्सवलाई राज्यले सहयोग गर्नुपर्ने जिकिर गरे । 
 
कार्यक्रममा पत्रकार जिवन पराजुलीले ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’मा चयन भएका फिल्मको बारेमा चर्चा गरे भने अभिनेता धिरेन शाक्यले यसपटक महोत्सवमा निकै राम्रा र फरक फिल्म आएको बताए । महोत्सव निर्देशक डब्बु क्षेत्रीले कोरोना महामारीका कारण विगत र यसपटक महोत्सवमा केही असर परे पनि आगामी वर्षबाट यसलाई अझ भव्य रुपमा आयोजना गर्ने बताए । 
 
महोत्सवको उद्घाटन कार्यक्रममा फिल्म, गीत संगीत तथा सौन्दर्य कला क्षेत्रमा तीन दशकभन्दा लामो समयसम्म योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई सम्मान पनि गरियो । समारोहमा आलोक तिवारी र ओम प्रकाश घिमिरे ‘पत्रकारिता सम्मान’बाट सम्मानित भए भने गायक अलिप खान, गायिका सुजता केसी, निर्देशक कल्याण अधिकारी ‘कलाकारिता सम्मान’बाट सम्मानित भए ।
 
nepal africa film festival
 
त्यस्तै, सुजन तिमिल्सिना नेल आर्ट टेक्निसियन सम्मान, मेकअप आर्टिस्टहरु बिना रानामगर, कञ्चन श्रेष्ठ, डिना थापामगर, सरस्वती पान्डे हमाल, मेकअप आर्टिस्ट ‘राष्ट्रिय सम्मानबाट सम्मानित भए । ब्युटिसियनहरु प्रीति सोनी शाह, शुभद्रा देबी उदास, शोभा महर्जन, मुना थापा मगर, शकुन्तला अवाले, शुभद्रा राई, रञ्जिता थापा र रमा गुर्मछान ‘सौन्दर्यकर्मी राष्ट्रिय सम्मान’ बाट सम्मानित भए ।
 
महोत्सवको निर्णायकहरुमा संगीतकार जुगल डँगोल, अभिनेताहरु प्रवण भुषाल, प्रेम पाण्डे, सागर घिसिङ, कोरियोग्राफर अजय स्याङतान, म्युजिक भिडियो निर्देशक विधान कार्की र पत्रकार कुवेर गिरी छन् । महोत्सवमा आइतवार बुर्किना फासोको फिचर फिल्म ‘आई अफ द साईलोन’सँगै ऋषिराज आचार्य निर्देशित ‘राईज’ र देवेन्द्र खत्री निर्देशित लघु फिल्म ‘द डेलिभरी’ प्रदर्शन गरियो । 
Most Visited News (monthly)