नेपाली फिल्ममा एक्सन अभिनेत्रीको खडेरी छ । अभिनेत्री रेखा थापापछि एक्सन फिल्म धान्ने अभिनेत्री जन्मिएका छैनन् । केहीले एक्सन अवतारमा आफूलाई ढाल्ने प्रयास गरे पनि सफल हुन सकेनन् । एक्सन भूमिकामा प्रस्तुत हुन ठूलो मेहेनत गर्नुपर्ने भएकाले पनि एक्सन फिल्म हत्तपत्त अभिनेत्रीहरुको रोजाईंंमा पर्दैन । यसैले नेपालमा महिला प्रधान एक्सन फिल्म बन्नै छाडेको अवस्था छ ।
.jpg)
तर, अब ‘लेडी’ एक्सन फिल्म बनाउन चाहने मेकरहरुका लागि अभिनेत्री सुरक्षा पन्त एउटा गतिलो रोजाई बन्न सक्छिन् । हरेक प्रकारको भूमिकामा जीवन्त अभिनय गर्ने कलाकारको रुपमा चिनाएकी उनले एक म्यूजिक भिडियोमार्फत् एक्सनमा राम्रो सम्भावना देखाएकी छन् । सोमवार सार्वजनिक भएको ‘गन्तव्य’ गीतको म्यूजिक भिडियोमा उनी एक्सन अवतारमा प्रस्तुत छिन् ।
एक्सन फिल्मको शैलीमा तयार पारिएको म्यूजिक भिडियोमा सुरक्षाको एक्सनलाई विशेष प्राथमिकता दिइएको छ । भिडियोमा उनले दर्जनौं भिलेनहरुसँग एक्लै भिडेको दृश्य जबर्जस्त छ । निर्देशक हरी हुमागाईंका अनुसार, गीतको भिडियोका लागि सुरक्षा पन्तले तीन दिन एक्सनको तामिल लिएकी थिइन् । तीन दिनको तालिमकै भरमा उनले भिडियोमा गरेको एक्सन प्रशंसायोग्य छ ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री पन्तले नेपाली समाजमा देखिरहेकै घटनालाई भिडियोमा उतारिएको बताइन् । उनले भनिन्, ‘जुनसुकै क्षेत्रमा भएपनि ‘नो मिन्स नो’को सिद्धान्त र ‘जीरो टोलरेन्स’को आइडियामा भिडियो बनाएका हौं । एक्सन जनरामा भिडियो बनाउने निर्देशकको आइडिया मन पर्यो अनि मैले पनि नयाँ कुरा सिक्न पाउछु भन्ने लोभले काम गरेको हुँ ।’
गीतमा आरके खत्रीको आवाज छ भने सूर्य अधिकारीले र्याप गाएका छन् । प्रकाश लामाको म्यूजिक एरेञ्ज रहेको गीतको शब्द गायक द्वय खत्री र अधिकारीले लेखेका हुन् । भिडियोमा सुरक्षाको जोडीको रुपमा मोडल निराजन प्रधान देखिएका छन् । पैसाका लागि गलत काम गरिरहेका उनीहरुबीचको प्रेम र बदला कथा भिडियोले बोल्छ । भिडियोमा शंकर महर्जनको द्वन्द्व निर्देशन छ ।

