
‘बाह्र सत्ताइस’ फिल्मबाट निर्देशनमा डेब्यू गरेका जौन योञ्जनाले लगातार रुपमा फिल्म निर्देशन गरिरहेका छन् । गत वर्ष फिल्म ‘म राजेश हमाल’को छायांकन सकाएका उनले सोमवार नयाँ फिल्म ‘आँखा’को घोषणा गरे । यो फिल्मको उनी आफैंले कथा लेखेका हुन् भने निर्मातामा पनि उनी स्वयं छन् । नेपाली समाजभित्रको गम्भीर विषयलाई फिल्ममा प्रस्तुत गरिने उनले जानकारी दिए ।
जेठ २० गतेबाट छायांकन सुरु हुने फिल्ममा आर.के. मेहता, अस्मिता लामिछाने, बुद्धि तामाङ, निशा अधिकारी, विजय बराल, पशुपति राई, राजन खतिवडा, रेनुका कार्की ढोली, रविन्द्र झा, कृष्णभक्त महर्जन, अभय बराल, सरोज खनाल, लुनिभा तुलाधर, सरोज लामिछाने, दीपक कोइरालालगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको कार्यकारी निर्मातामा राजेन्द्र घतानी छन् ।
ढाका टोपी फिल्मस्, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा लामा सिनेमाको प्रस्तुति रहेको फिल्ममा दीपक आर.जेको संगीत र अलोक सुक्लाको छायांकन रहनेछ । २०७९ सालमा छायांकन र पोष्ट प्रोडक्सनको काम सकेर २०८० सालमा फिल्मलाई प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ । फिल्मलाई आरआर फिल्मस् (रोहित कट्टेल र रत्न श्रेष्ठ) ले देशभर वितरण गर्नेछ ।
निशाले फिल्मको कथावस्तु र चरित्रले आफूलाई लोभ्याएको बताइन् । ‘आमा भएपछि मैले राम्रो राम्रो कथावस्तुका फिल्ममा काम गर्न पाइरहेको छु । ‘आँखा’ त अन्तर्राष्ट्रियस्तरमा पुग्छ भन्ने लाग्छ,’ उनले भनिन् । त्यस्तै, लुनिभाले फिल्ममा आफ्नो भूमिका लामो नभएपनि अर्थपूर्ण हुने बताइन् । कलाकार विजय बरालले आफूलाई भिन्न-भिन्न कथावस्तुका फिल्ममा काम गर्न मन लाग्ने बताए ।

