
संसारको पुरानो र प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलो पटक खाता खोलेको छ । कान्समा आधिकारिक रुपमा छनोट भएको अबिनाश विक्रम शाह निर्देशित फिल्म ‘लोरी’ले जुरीबाट ‘स्पेसल मेन्सन अवार्ड’ प्राप्त गरेको हो । यो फिल्म सर्ट फिल्म विधामा पाम डी अरका लागि प्रतिस्पर्धामा थियो । फिल्मले जितेको अवार्ड निर्देशक शाहले आफैं स्टेज चढेर उचाले ।
कान्सको अन्तिम दिन दर्शकहरुका लागि फिल्मको स्क्रिनिङ गरिएको छ । फिल्म प्रदर्शनपछि कलाकारदेखि प्राविधिकसम्मको प्रशंसा भएको जानकारी प्राप्त छ । कान्समा ‘लोरी’ले १ सय ४० देशबाट सहभागी भएका फिल्ममध्येबाट उत्कृष्ट ९ मा आफूलाई उभ्याएको थियो । करीब १५ मिनेट लम्बाईको फिल्मले नेपालको पित्तृसत्तात्मक समाजमा विद्यामान कुरीतिलाई उठान गरेको छ ।
बालविवाहको कथा भन्ने फिल्ममा एउटी आमाले आफ्नी १२ वर्षकी छोरीलाई शान्त बनाउन लोरी सुनाउँछिन् । जब लोरी सकिन्छ र छोरी होसमा आउँछिन् तब वास्तविकता बेग्लै भइसकेको हुन्छ । मुख्यतः तीन कलाकार अंकिता यादव, सुजिता साह र प्रीति झाको अभिनय रहेको फिल्मको पटकथा र संवाद निर्देशक शाह स्वयंले लेखेका हुन् भने छायाँकार उज्वलकुमार बस्ताकोटी हुन् ।
११ दिनसम्म चलेको फेस्टिभलमा प्रिमियरका लागि छनोट हुने र अवार्ड जित्ने ‘लोरी’ पहिलो नेपाली फिल्म बन्यो भने कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो अभिनेत्री सुरक्षा पन्त बनेकी छन् । उनी अभिनीत बेल्जियम भाषाको फिल्म ‘द एइट् माउन्टेन्स’ प्रिमियरका लागि छनोट भएपछि सुरक्षाले रेड कार्पेटमा हिँड्ने अवसर पाएकी थिइन् । उनी कान्समा सहभागी भएर नेपाल फर्किसकेकी छन् ।

