अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी स्टारर फिल्म ‘बाबरी’को टिजर सार्वजनिक भएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’सँग हलमा हेर्न पाइने टिजरलाई शनिवार यूट्युबमा सार्वजनिक गरिएको हो । १ मिनेट २० सेकेन्डको टिजरमा धिरज र अदितीबीचको मित्रता, प्रेम र नोकझोंकलाई देखाइएको छ । टिजरमा धिरजको आवाजले अचम्मित तुल्याउँछ ।

डेब्यू फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मा उनको आवाज सफ्ट सुनिएको थियो । तर, ‘बाबरी’ टिजरमा उनले चर्को र मोटो आवाजमा संवाद बोलेका छन्, जुन उनका फ्यानलाई सरप्राइज हुनेछ । उनको भिन्न आवाजसँगै गेटअपले दर्शकलाई फिल्मप्रति कौतुहलता जगाउने देखिन्छ । अदिती भने टिजरमा ‘लभर गर्ल’को रुपमा प्रस्तुत छिन् । धिरजसँगको उनको केमेस्ट्री सुहाएको देखिन्छ ।
यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका धिरज नाडकरलाई भने टिजरमा स्थान दिइएको छैन । उनी पुरानी अभिनेत्री तृप्ती नाडकरका छोरा हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङको पनि अभिनय छ ।
बाबरी फिल्मस्को प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । पुष्पा, अदितीकी आमा हुन् । सुष्मा गुरुङ सह-निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेल आफैंले लेखका हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ ।
आगामी भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजद दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर तयार पारेका हुन् । फिल्मको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको यस फिल्मका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।

