Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वर एन्ड वधु’को घोषणामा न साम्राज्ञी पुगिन् न नामै लिइयो

अन्जान दाहाल, काठमाडौं, 2022/05/26
बुधवार राजधानीको होटल एभरेष्टमा अनौठो शैलीमा एक फिल्मको निर्माण घोषणा गरियो । तामझाम लोभलाग्दो थियो तर एउटा कमजोरीले फिल्मको घोषणा सभालाई नै गिज्जाइरहेको देखिन्थ्यो । फिल्म थियो, निर्देशक मिलन चाम्सको ‘वर एन्ड वधु’ । उनको फिल्म भएपछि घोषणा सभा होस् वा प्रिमियर, तामझामका लागि पैसाको खोलो बग्छ । उनी हरेक कुरामा भव्यता खोज्ने गर्छन् ।
 
‘वर एन्ड वधु’को घोषणा सभामा कलाकार हिँड्नका लागि होटलको महंगो कार्पेटमाथि महंगो रेड कार्पेट ओछ्याइएको थियो । रेड कार्पेटमा जुत्ताको दाग लाग्छ भनेर रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई समेत कार्पेटमा टेक्न दिइएको थिएन । दृश्य हाँसउठ्दो थियो । अभिनेत्री आँचल शर्मादेखि नवनायक विवेक कर्मचार्यसम्मले त्यहीँ रेड कार्पेटमा हिँड्दै सानदारको इन्ट्री दिए । 
 
क्रमशः झन्डै आधा दर्जन कलाकारहरुले सुकसुकाउँदो रेड कार्पेटमा हिँड्दै मिडियाका क्यामेराको तिर्खा मेटाए । कार्यक्रममा आँचलको प्रवेशपछि मिडियाका क्यामेरा र सञ्चारकर्मीका आँखा एक अभिनेत्रीको खोजी गरिरहेको थियो । ती अभिनेत्री थिइन्, साम्राज्ञी आरएल शाह । केही समय अगाडि निर्माण टिमले फिल्ममा उनको प्रवेश भएको औपचारिक जानकारी गराएको थियो । 
 
 
तर, फिल्मको घोषणा सभामा साम्राज्ञी पुगिनन् । काम व्यस्तता वा स्वास्थ्य समस्याले गर्दा पनि कतिपय अवस्थामा कलाकारहरु आफ्नै फिल्मको घोषणा सभा, प्रचार-प्रसार वा प्रिमियरमा उपस्थित हुन सकेका हुँदैनन् । साम्राज्ञीको हकमा पनि यही भएको हुनसक्ने अनुमान धेरैले गरे । तर, कार्यक्रम अवधिभरी उनको नाम समेत उच्चारण गरिएन । न उद्घोषणले न त निर्देशकले नै ।
 
फिल्ममा अभिनय गर्ने भनेर मिडियामा प्रचारबाजी समेत गरिसकेको कलाकारको घोषणा जस्तो महत्त्वपूर्ण समारोहमा नाम समेत उच्चारण नहुनु आफैंमा आश्चर्यको कुरा थियो । त्यसमाथि साम्राज्ञी नयाँ कलाकार होइनन्, वेवास्था गर्दा पनि फरक पर्ने । अहिलेका चल्तीका अभिनेत्रीहरुमध्ये उनको नाम अग्रस्थानमा आउँछ । जुनसुकै कार्यक्रममा उनी उपस्थित हुँदा मात्रै पनि ठूलो अर्थ राख्छ ।
 
तर, साम्राज्ञीलाई कार्यक्रममा वेवास्था गरिएको स्पष्ट देखिथ्यो । घोषणा सभा विट मार्ने बेलासम्म उनी उपस्थिति नहुनुको कारण र नाम समेत उच्चारण नभएपछि फिल्मखबरकर्मी मनिष अन्जानले मिलन चाम्सलाई प्रश्न गरे, ‘साम्राज्ञीको नाम समेत नलिएर अपमान गरियो भन्ने लाग्दैन ?’ जवाफमा उनले भने, ‘ढुक्क हुनुहोस् फिल्ममा उहाँ हुनुहुन्छ । आपसी सहमतिमै हामी अगाडि बढेका हौं ।’
 
निर्देशक चाम्सले साम्राज्ञी कार्यक्रममा उपस्थित नहुनुलाई आपसी सहमतिको कारण देखाउनु आफैंमा चित्तबुझ्दो उत्तर थिएन । पछि फिल्मीखबरले कार्यक्रममा साम्राज्ञी उपस्थित नहुनुको कारण खोज्ने क्रममा दुई तथ्य पत्ता लगायो । पहिलो, फिल्ममा साम्राज्ञी गेस्ट रोलमा हुनेछिन् र दोस्रो, उनी कार्यक्रममा उपस्थित हुँदा मिडियामा आँचलले महत्त्व नपाउने डर निर्देशक चाम्सलाई रहेछ । 
 
एक हिसाबले आँचलको यो ड्रिम प्रोजेक्ट हो । महिनौंदेखि उनले फिल्मको चरित्रमा आफूलाई फिट बनाउन मेहेनत गरेकी छन् । यसैले मिलन चाम्सले साम्राज्ञीलाई कार्यक्रममा उपस्थित गराएर आँचललाई छाँयामा पार्न नचाहेको देखिन्छ । हुन पनि, कार्यक्रममा साम्राज्ञी पुगेको भए उनी नै आकर्षणको केन्द्रविन्दू हुने थिइन् । तर, कार्यक्रममा नामै नलिनु चाहिँ साम्राज्ञीमाथि अन्याय थियो ।
Most Visited News (monthly)