
यही शुक्रवारबाट फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ प्रदर्शनको तयारीमा छ । कोभिडपछिको सर्वाधिक प्रतिक्षामा रहेको यो फिल्मप्रति दर्शकमा देखिएको क्रेजलाई मध्यनजर गर्दै प्रदर्शनको ५ दिन अगावैदेखि मल्टीप्लेक्सहरुमा अग्रिम बुकिङ खोलिएको थियो । काठमाडौंका प्रत्येक मल्टीप्लेक्सले ठूला विदेशी फिल्महरुलाई उपलब्ध गराउँदै आएको शो यो फिल्ममाथि थोपरेका छन् ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा फिल्मले सर्वाधिक शोज प्राप्त गर्दै रेकर्ड नै बनाएको छ । क्यूएफएक्सले काठमाडौंभित्र र मोफसलका ११ वटा स्टेशनमा फिल्मलाई ९८ शो दिएको छ । नेपाली र विदेशी फिल्मले आजसम्म पाएको शोमध्ये यो सर्वाधिक हो । र, फिल्मले पाएको प्रायः शो हाउसफुलको चरणमा छन् भने केही शो सोल्डआउट नै भइसकेका छन् ।
क्यूएफएक्स अन्तर्गतको लबिम मलमा शुक्रवार विहान ८ बजेको शो सोल्डआउट भएको छ । त्यस्तै, विर्तामोडको वान् स्टप हलको साढे ११ बजेको शो र साँझ ८ बजेको शो पनि सोल्डआउट भइसकेको छ । क्यूएफएक्सको अन्य हलहरुमा फिल्मको टिकट बुकिङ आक्रामक देखिएको छ । क्यूएफएक्स चेनबाटै फिल्मले प्रदर्शनको पहिलो दिन ३० लाखमाथि कमाउने सम्भावना देखिन्छ ।
काठमाडौंका बिग मुभिज, वान् सिनेमाज्, एफक्यूब सिनेमाज्, क्यूज सिनेमाज् लगायतका मल्टीप्लेक्सहरुमा पनि फिल्मको टिकट आक्रामक रुपमा बुकिङ भइरहेको जानकारी प्राप्त छ । प्रायः नेपाली फिल्मको टिकट प्रदर्शनकै दिन ‘डोर टू डोर’ विक्री हुने गरेका छन् । तर, ‘कबड्डी ४’को टिकट अनलाइन र काउन्टरमै गएर खरिद गर्ने दर्शक उल्लेख्य रहेको हल सञ्चालक बताउँछन् ।
.jpg)
फिल्मको एड्भान्स बुकिङमा देखिएको क्रेजलाई हेर्ने हो भने ‘कबड्डी ४’को ओपनिङ विजनेश नेपाली फिल्मको अहिलेसम्मकै सबैभन्दा ठूलो हुने देखिन्छ । फिल्मले पहिलो दिन दुई करोड नजिकको व्यापार गर्ने आँकलन गरिएको छ । पहिलो विकेन्डमा फिल्मले ६ करोड पार गर्न सक्नेछ । फिल्मलाई हलमा लामो रेसको घोडा बन्न भने बलियो वर्ड अफ माउथको साहरा चाहिनेछ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । नेपाल प्रदर्शनभन्दा अगावै फिल्मले ओभरसिज राइट्सबाट लगानी सुरक्षित गरिसकेको छ ।

