फिचर फिल्मको लम्बाईमा नेपालमा पहिलो पटक संवादसहित गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त गरियो । फिल्मको मुहूर्त सट कलाकारहरु अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । फिल्ममा उनीहरुको जोडी बाँधिएको छ ।

सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको बुधवारबाट छायांकन सुरु भएको छ । फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य र सविना न्यौपानेको पनि अभिनय रहनेछ । फिल्मलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् । उनले लेखेको ६ वटा लोकगीतमा फिल्म निर्माण हुन लागेको हो । फिल्ममा केही प्रतिशत संवाद पनि हुनेछ । क्यानडाको लागि नेपाली साँस्कृतिक दुतसमेत रहेका पुर्ण नेपालीको एकल संगीतमा रहेका फिल्मका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान लगायतका गायक-गायिकाहरुको स्वर रहेको छ ।
निर्माता पनेरुले आफूले व्यवसायिक उद्देश्य नबोकी फिल्म निर्माण गर्न लागेको बताए । उनले भने, ‘फरक-फरक शैलीका लोकगीतमार्फत् फिल्ममा कथा भनिनेछ । यसलाई आधुनिक मुना मदन पनि भन्न सकिन्छ । तर, यो सुखान्त मुना मदन हुनेछ । यो फिल्मले समाजलाई सकारात्मक सन्देश दिनेमा विश्वस्त छु ।’ भिन्न जातीका दुई केटा-केटीको प्रेमकथामा फिल्म आधारित हुने उनले जानकारी दिए ।
यसअघि दुई फिल्मको निर्देशक गरिसकेका देवेन्द्र पाण्डेले आफूले यसअघि गरेका फिल्मभन्दा ‘मानिस ठूलो दिलले हुन्छ’ भिन्न रहने दावी गरे । सामाजिक विषयवस्तुमा आधारित भएर फिल्म बन्ने उनको भनाई छ । गीतको माध्यमबाट समाजलाई सन्देश दिने उद्देश्यले फिल्म बनाउन लागको उनी बताउँछन् । उनले यसअघि सयौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

फिल्मको लम्बाई एक घन्टाभन्दा लामो हुने बताइएको छ । सम्भवतः संवादसहित यो लम्बाईमा यसअघि गीति चलचित्र निर्माण भएका छैनन् । करीब १५ दिन छायांकन हुने फिल्मलाई उत्सव दाहालले खिच्नेछन् भने सम्पादन विकास दाहालले गर्नेछन् । फिल्म निर्माण भएपछि विभिन्न ठाउँमा च्यारिटीसहित हलमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य छ ।

