जेठ १४ गते शनिवार काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको बलिउड सुपरस्टार सलमान खानको कन्सर्ट दोस्रो पटक पनि स्थगन भएको छ । यसअघि सन् २०१८ मा सुरक्षाको कारण देखाउँदै रोकिएको ‘द ब्याङ रिलोडेड टुर’ कार्यक्रम यसपटक स्थानीय चुनावका कारण अपेक्षाकृत टिकट विक्री नभएपछि आयोजक संस्था ओडिसीले तत्काललाई कन्सर्ट स्थगित गर्ने निर्णय गरेको हो ।
.jpg)
मंगलवार साँझ आयोक संस्था ओडिसीले फेसबुकमार्फत् एक विज्ञप्ति जारी गर्दै सलमान खानको नेपाल कन्सर्ट स्थगन भएको जानकारी गराउँदै भनेको छ, ‘नेपालमा जेठ १५ गतेको बजेटले गर्दा केन्द्रीय सरकारको व्यस्तता निकै बढेको बेला स्थानीय तहको चुनावका कारण टिकट विक्रीमा समेत परेको प्रभाव र वर्षाका कारण हाललाई कन्सर्ट अर्को मितिको लागि सार्न लागिएको छ ।’
द ब्याङ टुरका लागि नेपाल आउने तयारीमा रहेकी अभिनेत्री ज्याकलिन फर्नाडिजमाथि लागेको एक मुद्दाका कारण भारत छाड्न प्रतिबन्ध भएकाले नेपाल आउनका लागि अदालतमा दिएको निवेदन अस्वीकृत हुनु र उनको सट्टा पूजा हेगडे आउने भएपछि नयाँ अभिनेत्रीको हकमा दर्शकलाई ‘राईट अफ च्वाईस’ दिनका लागि पनि कन्सर्ट रोकिएको ओडिसीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
ओडिसीले विज्ञप्तिमा अगाडि भनेको छ, ‘करोडौं खर्च गरेर कार्यक्रम तयारीको लागि २८ वटा ट्रक भारतीय सिमानामा पुगेको तर लामो बिदाले सोचे अनुरुपको भन्सार अनुमति पत्र प्राप्तिमा भएको ढिलाइ, प्रतिकुल मौसमको कारणले १० वटा ट्रक रोकिएको र विभिन्न प्राविधिक कारण कार्यक्रम सार्ने निर्णय मन्त्रालय, प्रशासन, भारतीय प्रोडक्सन र आरट्रिस्ट टोलीको सुझावमा गरेका हौं ।’
ओडिसीले अब नयाँ मितिमा चाँडै कार्यक्रम हुने र काटिसकेको टिकटले मान्यता पाउने पनि जानकारी गराएको छ । आयोजकले दर्शकहरुलाई टिकट फिर्ता गर्ने व्यवस्था पनि मिलाएको छ । कन्सर्टका लागि सलमानसहित सोनाक्षी सिन्हा, आयुष शर्मा, प्रभु देवा लगायत नेपाल आउँदै थिए । उक्त कन्सर्टमा प्रवेश गर्नको लागि ५ हजारदेखि २५ हजारसम्मको टिकट मुल्य तोकिएको थियो ।

