
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रेमगन्ज’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘तरबार’ बोलको आइटम गीतमा अभिनेत्री बेनिशा हमाल बोल्ड अवतारमा प्रस्तुत छिन् । उनले पहिलो पटक फिल्ममा आइटम गीतमा नृत्य गरेकी हुन् । गीतमा उनले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् ।
पुरुषोत्तम ढुंगेलको शब्द र किरण भुषालको संगीत रहेको गीतमा दिक्षा थापा र सुरज शाही ठकुरीको युगल स्वर छ । गीतको भिडियोमा संजय लामाको छायांकन र द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ । गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री हमालले आफूलाई पहिल्यैदेखि आइटम गीतमा नृत्य गर्ने ठूलो इच्छा रहेको बताउँदै ‘तरबार’ गीत सुनेपछि काम गर्न लोभिएको बताइन् ।
परिच्छेद सेनको निर्देशनमा तयार भएको फिल्ममा बेनिशाका अलावा सुरक्षा पन्त, तेज गिरी, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाललगायतका कलाकारको पनि अभिनय छ । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको कथा तथा पटकथा निर्देशक सेन आफैंले लेखेका हुन् ।
अर्जुन जिसीले सम्पादन गरेको फिल्मको निर्मातामा किरण गुरागाईं, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी र निर्मला लामिछाने छन् । स्पट व्याईंको रुपमा दुई दशकभन्दा लामो समयदेखि नेपाली फिल्ममा काम गर्दै आएका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । निर्देशक सेनले फिल्मलाई उत्कृष्ट बनाउन आफूले कुनै कसर नछाडेको बताए ।

