
लैनसिंह बाङ्देलद्वारा लिखित चर्चित उपन्यास ‘लङ्गडाको साथी’माथि आधारित भएर फिल्म ‘अभिन्न’ निर्माण भएको छ । यसै साता राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माण भएको जानकारी दिँदै स्केच पोस्टर सार्वजनिक गरियो । पोस्टरमा उपन्यासका लेखक बाङ्देलको स्केच तस्विरसँगै फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका कार्म शाक्य र एक कुकुरलाई पनि देख्न सकिन्छ ।
फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । उनले यसअघि ‘आचार्य’, ‘सोल सिस्टर’, कथा’ फिल्मको निर्देशन गरिसकेका छन् भने फिल्म ‘कागबेनी’को पटकथा र संवाद लेखेका थिए । उनले ‘अभिन्न’को छायांकन लकडाउनभन्दा अगाडि नै सकिएको र यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको जानकारी दिए । उपन्यासको मर्मलाई फिल्ममा मर्न नदिएको उनले बताएका छन् ।
फिल्मलाई हलमा प्रदर्शन गर्नुभन्दा अगाडि विदेशमा हुने फेस्टिभलमा पठाउने तयारीमा निर्माण टिम छ । रञ्जित गजमेरले संगीत भरेको फिल्मलाई विभाकर सुन्दर शाक्यले निर्माण गरेका हुन् । बाङ्देलको ‘लङ्गडाको साथी’ उपन्यासमा दार्जलिङ्ग शहरको बजारमा डुली हिँड्ने एक अपाङ्ग व्यक्तिले भोग्नु परेको कारूणीक कहानी र उसलाई सहयोग गर्ने कुकुरको चरित्र उतारिएको छ ।

