
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसपालीको निर्वाचनमा नेपाली फिल्मका अभिनेतादेखि निर्देशक-निर्मातासम्मले विभिन्न राजनीतिक दलबाट विभिन्न पदमा उम्मेदवारी दिएका थिए । केहीले जीत हासिल गरेका छन् भने केही पराजित भएका छन् । तर, यसपटक चुनाव हार्नेभन्दा जित्ने फिल्मकर्मीको संख्या उल्लेख्य देखिएको छ ।
फिल्म निर्देशक तथा कलाकार मुनाल घिमिरे एमालेबाट वडा अध्यक्षमा, अभिनेता राज घिमिरे माओवादी केन्द्रबाट वडा अध्यक्षमा र कलाकार किशोर भण्डारी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भइसकेको अवस्थामा एक फिल्म निर्मात्रीले मेयर पदमा विजयी हासिल गरेकी छन् । सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा निर्मात्री कल्पना कुमारी कटुवाल निर्वाचित भएकी हुन् ।
कटुवालले बरहथवाका निवर्तमान नगरप्रमुख देवानन्द महतोलाई पराजित गर्दै नगरप्रमुखमा जीत हासिल गरेकी हुन् । उनले १२ हजार २७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी महतोले ६ हजार ६६६ मत पाएका छन् । कल्पनाले मेयरमा जीत हासिल गरेर सर्लाहीमा एमालेको इज्जत जोगाएकी छन् । सर्लाहीमा चार नगरपालिकामध्ये बरहथवामा मात्र एमालेले मेयर जितेको हो ।
सर्लाहीको पहिलो महिला मेयर बनेकी कल्पनाले फिल्म ‘रुद्र’को निर्माण गरेकी थिइन् । यो फिल्मबाट उनका छोरा विश्व शर्माले अभिनेताको रुपमा डेब्यू गरेका थिए । तर, ‘रुद्र’को व्यापारिक असफलतापछि न कल्पनाले नयाँ फिल्म निर्माण गरेकी छन् न विश्वले फिल्ममा काम पाएका छन् । कल्पना विजयी भएको बरहथवा नगरपालिका अभिनेता निखिल उप्रेतीको निर्वाचन क्षेत्र हो ।

