Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’ले रोज्यो दशैं, असोज ७ मा रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2022/05/22
prem geet 3
 
कोरोना महामारी नफैलिएको भए फिल्म ‘प्रेमगीत ३’ २०७६ सालमै रिलिज भइसकेको हुने थियो । चैत २८ गतेलाई प्रदर्शन मिति तोकेर निर्माण टिमले प्रचार-प्रसारलाई तीव्रता दिन गीत समेत सार्वजनिक गरिसकेको थियो । तर, कोरोना संक्रमण फैलिएपछि फिल्म अनिश्चितकालका लागि रोकियो । यसपछि निर्माण टिमले भारतमा पनि रिलिज गर्न फिल्मलाई हिन्दी भाषामा डब गर्‍यो ।
 
हिन्दी डब पूरा भएपछि गत वर्ष निर्माता सन्तोष सेनले भारत र नेपालमा एकसाथ प्रदर्शन गर्ने भन्दै फागुन १३ गतेलाई ‘प्रेमगीत ३’को नयाँ प्रदर्शन मिति घोषणा गरे । तर, प्रदर्शन मिति नजिकिँदै गर्दा कोरोना महामारीको तेस्रो भेरियन्ट फैलिएपछि उनले फिल्म रिलिज गर्ने आँट गरेनन् र फेरि रिलिज पोस्टपोन्ड गरे । अब भने यस वर्षको दशैं छेकोमा फिल्म प्रदर्शनमा आउने भएको छ ।
 
आइतवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मलाई घटस्थापनाको तीन दिन अगाडि अर्थात् असोज ७ गते प्रदर्शन गर्ने निर्णय गरेको छ । अहिलेसम्म यो मिति अरु नेपाली फिल्मले रोजेका छैनन् । फिल्ममा ठूलो लगानी भएका कारण निर्माण टिमले दशैंको विदा रोजेको हो । अरु बेलाभन्दा दशैंमा फिल्म प्रदर्शन गर्दा लगानी उठाउन सजिलो हुने विश्वास निर्माताहरुमा व्याप्त छ ।
 
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।
Most Visited News (monthly)