.jpg)
संसारको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा फिल्म प्रिमियर हुनु र कलाकारले रेड कार्पेटमा हिँड्न पाउनु ठूलो उपलब्धि मानिन्छ । कान्समा संसारका प्रख्यात फिल्म स्टारहरु सहभागी हुने गरेका छन् । नेपाली फिल्मकर्मीहरुले पनि कान्समा प्रतिनिधित्व जनाइसकेका छन् । २०१७ मा अभिनेत्री प्रियंका कार्की कान्समा सहभागी भएकी थिइन् । तर, उनी रेड कार्पेटमा हिँड्न पाइनन् ।
यसपटक अभिनेत्री सुरक्षा पन्तले भने कान्सको रेड कार्पेटमा वाक गर्ने अवसर पाएकी छन् । आफू अभिनीत इटाली र बेल्जियम भाषाको फिल्म ‘द एइट् माउन्टेन्स’को प्रिमियरमा सहभागी हुने क्रममा उनी बुधवार कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेकी हुन् । फिल्मका अन्य कलाकारसँग एकसाथ रेड कार्पेटमा हिँडेकी उनले रातो रंगको आकर्षक गाउन लगाएकी थिइन् ।
‘द एइट् माउन्टेन्स’ कान्समा प्रिमियरका लागि छनोट भएपछि सुरक्षा जेठ ३ गते फ्रान्स उडेकी थिइन् । यो उनले अभिनय गरेको पहिलो विदेशी फिल्म हो । इटालीसँगै नेपालको मनाङमा छायांकन भएको फिल्मको नेपालको पार्टमा सुरक्षाले अभिनय गरेकी छन् । जेठ ५ गते कान्समा प्रिमियर भएको यो फिल्मलाई फेलिक्स भान ग्रोनिनगेन र चार्लोट्टी भन्डरमिर्सले मिलेर निर्देशन गरेका हुन् ।
.jpg)
कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनेकी सुरक्षाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘रेड कार्पेटमा हिँड्नु एक वास्तविक पल जस्तै थियो । फिल्म र कथाकारहरुको सबैभन्दा ठूलो माहोललाई देख्न पाएको अवसर म जीवनभर संगालेर राख्नेछु । मेरो लागि यो एक स्वर्णिम संसार जस्तै हो ।’ उनी नेपाल फर्किए लगत्तै फिल्म ‘के घर के डेरा’को छायांकनमा व्यस्त हुनेछिन् ।

