Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारदेखि खेलाडीसम्मले मन पराए ‘लाइफ इन एलए’

फिल्मीखबर, काठमाडौं, 2022/05/19
यही शुक्रवार (जेठ ६) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाइफ इन एलए’ले बुधवार साँझ राजधानीको लबिम मलमा भएको प्रिमियरमा सकारामक प्रतिक्रिया पाएको छ । फिल्म हेर्न पुगेका कलाकारदेखि खेलाडीसम्मले कथावस्तुको प्रशंसा गरे । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले अमेरिकाको लाइफस्टाइल कस्तो हुन्छ भनेर फिल्मले गहिराइमा देखाएकोमा खुशी व्यक्त गरिन् । 
 
deepa shree and prakash sayami
 
उनले भनिन्, ‘हामी अमेरिकालाई सपनाको देश मात्र भन्छौं । तर, त्यहाँ गएपछिको लाइफस्टाइल कस्तो हुन्छ भन्नेबारेमा हामीलाई थाहा नै हुँदैन । फिल्ममा यी सबै कुरालाई देखाइएको छ । अमेरिका नगए पनि फिल्मबाट धेरै बुझ्न पाइन्छ ।’ त्यस्तै, पूर्वडीआईजी रमेश खरेलले निर्माता ब्यास बिस्सुले आफ्नो लाइफसँग जोडेर फिल्म बनाएकाले कति दृश्यमा आफू इमोसनल भएको बताए । 
 
निर्देशक प्रकाश सायमीले पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । उनले भने, ‘अमेरिकामा बनेको फिल्म भएकाले यसले एउटा फरक भ्यालु राख्छ । अमेरिकामा बस्ने नेपालीको कथालाई फिल्ममा बुनिएको छ । समाज, आर्थिक विकास, नेपालीले पुर्‍याएको योगदान र अमेरिका जान चाहनेहरुलाई फिल्मले सुझाव दिन्छ । यो फिल्मबाट नेपाली मेकरले पनि नयाँ कुरा सिक्न पाउँछन् ।’ 
 
biraj maharjan
 
निर्माता अर्जुन कुमारले पनि फिल्म आफूलाई मन परेको बताए । नयाँ सोचसहित फिल्म बनाएको देख्दा खुशी लागेको बताउँदै हेरिरहेको फिल्मभन्दा फरक लाग्ने उनको भनाई छ । त्यस्तै, फुटबल खेलाडी विराज महर्जन र भरत खवासले फिल्ममा वास्तविक कथालाई प्रस्तुत गरिएकाले मन छोएको बताए । उनीहरुले निर्माता बिस्सुले नेपाललाई पुर्‍याएको योगदानको पनि प्रशंसा गरे ।
 
प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेपछि खुशी देखिएका निर्माता तथा अभिनेता बिस्सु दर्शकलाई पनि फिल्म मन पर्नेमा आशावादी छन् । ‘फिल्मले मानिसलाई धेरै कुराको ज्ञान दिन्छ । सबैले अमेरिका कस्तो छ भनेर सोच्छन्, फिल्मले त्यो देखाएको छ । मैले पनि अमेरिका जाँदा कति दुःख पाएको थिएँ, त्यो फिल्ममा देख्न सकिन्छ । फिल्मले दर्शकको राम्रो साथ पाउनेमा ढुक्क छु,’ उनले भने ।
 
bash bissu
 
विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा ब्यासका अलावा शिल्पा मास्के, अकेशा विष्ट, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय रहेको छ । फिल्मको अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको हो ।
Most Visited News (monthly)