
नेपाली फिल्मको थापा परिवार अर्थात् झरना थापा, सुनिल कुमार थापा र सुहाना थापाका लागि सपनाको देश अमेरिका पानी पँधेरो जस्तै हो । उनीहरु वर्षमा एक वा दुईपटक अमेरिका पुगेकै हुन्छन् । सुहाना अमेरिकामा बसेर पढिरहँदा छोरी भेट्न झरना र सुनिल बाक्लै रुपमा अमेरिका जाने गर्थे । सुहाना फिल्ममा आएपछि पनि उनीहरुको अमेरिका ओहोर–दोहोर रोकिएको छैन ।
अध्ययनकै क्रममा सुहानाले फिल्म ‘ए मेरो हजुर ३’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसैले उनी फिल्मको छायांकन र रिलिजपछि अध्ययनका लागि अमेरिका उडिहाल्थिन् । आफ्नो नयाँ फिल्म ‘ए मेरो हजुर ४’को प्रदर्शनका लागि केही महिनादेखि नेपालमा रहेकी उनी ग्राजुयशन पूरा गर्न पुनः अमेरिका उडेकी छन् । उनी बुधवार आमा झरनाको साथमा अमेरिका उडेकी हुन् ।
झरना र सुहानाको अमेरिका बसाई जेठ र असारभरी हुने जानकारी प्राप्त छ । यो अवधिमा सुहानाले आफ्नो ग्राजुयशन पूरा गर्नेछिन् भने अमेरिकाको विभिन्न शहरमा हुने ‘ए मेरो हजुर ४’को प्रिमियर शोमा पनि सहभागी हुने कार्यक्रम रहेको छ । मंगलवार मात्र नमस्ते इन्टरटेनमेन्टका अमृत राई, खेम गुरुङ र जंग राईको टिमले महंगोमा फिल्मको अमेरिका राइट्स खरिद गरेको छ ।
झरना अमेरिकाबाट फर्केपछि फिल्म ‘भागवद् गीता’को छायांकन सुरु गर्ने योजनामा छिन् । साउन अन्तिमबाट छायांकन सुरु हुने फिल्मको टिजरको छायांकन भने भइसकेको छ । केही हप्ताअघि जनकपुरमा छायांकन भएको टिजरमा सुहाना मात्र फिचर छिन् । फिल्ममा उनीसँग रोमान्स गर्ने नायकको पनि टुंगो लागिसकेको छ । तर, निर्माण टिमले नायकको नाम भने गोप्य राखेको छ ।

