एक समय टेलिभिजनको दुनियाँमा अकेशा विष्टले आफूलाई दर्विलो रुपमा उभ्याएकी थिइन् । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘कल कान्तिपुर’ले उनलाई दर्शकको ठूलो वर्गमा चिनाएको थियो । अग्लो कद, बोल्ड आवाज र नशालु आँखाले उनी ‘हिरोइन मेट्रियल’ देखिन्थिन् । यसैले उनलाई अभिनयको मोहले तान्दै गयो । म्यूजिक भिडियो हुँदै उनी फिल्मको हिरोइनसम्म बनिन् ।
सन् २०१५ मा रिलिज भएको फिल्म ‘जिन्दगी रक्स’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । न फिल्म चल्यो न त उनको अभिनयको प्रशंसा नै भयो । डेब्यू फिल्म रिलिजपछि उनले नेपालमा कमाएको नामलाई तिलाञ्जली दिएर सपनाको देश अमेरिकाको उडान भरिन् । त्यसपछि उनले करीब ६ वर्ष अमेरिकामा गुनमान जीवन विताइन् ।

उनै, अकेशा फेरि आफ्नो दुनियाँमा फर्किएकी छन् अर्थात् अभिनयमा । उनको कमब्याक फिल्म ‘लाइफ इन एलए’ यही जेठ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसैका लागि उनी सोमवार अमेरिकाबाट नेपाल आएकी छन् । उनी आफ्नो कमब्याक खुसी, डर र नर्भसले भरिएको सुनाउँछिन् । तर, अब अमेरिकामा बसेरै भए पनि अभिनयलाई निरन्तरता दिने उनको सोच छ ।
सोमवार राजधानीमा पत्रकारसँग गफिने क्रममा उनी फिल्ममा फर्किन ढिलाई हुनुको कारणबारे भन्दै थिइन्, ‘मेरो पहिलो फिल्म रिलिजपछि देशमा भूकम्प गयो । त्यसपछि फिल्म सम्बन्धि काम खासै भएनन् । त्यसलगत्तै म अमेरिका गएँ । उता गएपछि पढाई र कामले गर्दा फिल्ममा समय दिन सकिएन । अब राम्रो भूमिकाबाट प्रस्ताव आयो भने अभिनयलाई निरन्तरता दिने सोचमा छु ।’
आफू अमेरिकामा बस्न थाले पनि मनबाट नेपाली फिल्म कहिल्यै टाढा हुन नसकेको उनको भनाई छ । ‘म अमेरिका बस्न थाले पनि नेपाली फिल्म सधैं मेरो मनमा थियो । बीच-बीचमा केही फिल्मबाट अफर पनि आएको थियो तर व्यस्तताका कारण काम गर्न पाएको थिइनँ । ‘लाइफ इन एलए’बाट प्रस्ताव आउँदा म फुर्सद नै थिएँ । स्क्रिप्ट र भूमिका मन परेपछि काम गरेँ,’ उनले भनिन् ।
सूर्य एन श्रेष्ठ निर्देशित फिल्म ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ । नेपाल प्रदर्शनअघि फिल्मको अमेरिकाको विभिन्न ठाउँमा प्रिमियर भएको थियो । त्यहाँ मिलेको प्रतिक्रियाबाट उत्साहित भएकी अकेशा नेपालमा पनि दर्शकले फिल्म रुचाउनेमा आशावादी छिन् ।

