कोरोना महामारी रोकथाम गर्न सरकारले पटक पटक सिनेमा हलहरु बन्द गर्दा देशभर ठूलो संख्यामा सिंगल थिएटरहरु सदाका लागि बन्द भए । जसले गर्दा फिल्मकर्मीमा निराशा छाएको थियो । तर, संक्रमण सामान्य भएर नियमित फिल्महरु प्रदर्शन हुन थालेपछि काठमाडौंसहित विभिन्न ठाउँमा ठूलो लगानीमा आकर्षक सेवा सुविधासहित मल्टीप्लेक्स हलहरु खुल्ने क्रम बढेको छ ।

यसैक्रममा, आगामी शुक्रवारबाट काठमाडौंमा अर्को सुविधा सम्पन्न मल्टीप्लेक्स थपिने भएको छ । जमलस्थित नेपालको पुरानो विश्वज्योति हल मल्टिप्लेक्स स्वरुपमा सञ्चालनमा ल्याउन लागेको हो । शुक्रवारबाट सञ्चालनमा आउने उक्त हलको मंगलवार कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे । कुनै बेला यो हलले निर्मातालाई सर्वाधिक शेयर दिने गर्थ्यो ।
थुप्रै नेपाली फिल्मले विश्वज्योतिमा कीर्तिमान राखेका छन् । फिल्म ‘चिनो’ यो हलमा ३२ हप्तासम्म चलेको थियो भने ‘दर्पणछायाँ’ र ‘ठुल्दाइ’ले आफ्नो पूरा लगानी यो एउटै हलबाट उठाएका थिए । यो हलमा सय दिनको रेकर्ड राख्ने नेपाली फिल्मको सूची निकै लामो छ । विश्वज्योतिले ‘चिनो’ र ‘राँको’ गरी दुई फिल्म निर्माण पनि गरेको छ । विश्वज्योति हल २०१३ सालमा स्थापना भएको हो ।

पुरानो हल भएको आडमै खडा भएको पाँच तले विश्वज्योति मलको माथिल्लो तल्लमा दुई अडिटोरियमको विश्वज्योति सिनेमाज् खुलेको हो । हलको एउटा अडिटोरियममा २०१ र अर्को अडिटोरियममा ८९ सिट संख्या रहेको विश्वज्योतिका अध्यक्ष मोहन सरार्फले बताए । शुक्रवारबाट ‘लक्का जवान’, ‘डक्टर स्ट्रेन्ज २’ लगायतका फिल्म प्रदर्शन गर्दै हल औपचारिक रुपमा खुल्नेछ ।

