.jpg)
भर्सटायल अभिनेत्री सुरक्षा पन्त संसारको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएकी छन् । मे १७ (आज) देखि सुरु भएर २८ तारिखमा सकिने फेस्टिभलमा आफू सहभागी हुन लागेको जानकारी सुरक्षाले सामाजिक सञ्जालमार्फत् दिएकी हुन् । उनी अभिनीत हलिउड फिल्म ‘द एट माउन्टेन्स’ कान्समा प्रिमियर हुन लागेकाले उनले फेस्टिभलमा सहभागी हुने मौका पाएकी हुन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘केही समयअघि एउटा अन्तर्राष्ट्रिय सिनेमामा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थियो । ‘द एट माउन्टेन्स’, जसको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो । उक्त सिनेमा कान्स फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छानिएको खबर पाएसँगै निमन्त्रणा आयो अनि मैले जाने तय गरेँ । सिनेमाको कान्समा प्रिमियर जेठ ४ गते हुनेछ ।’
उनी मंगलवार कान्समा सहभागी हुनका लागि फ्रान्स प्रस्थान गर्दैछिन् । यसअघि नेपालको प्रतिनिधित्व गर्दै सन् २००९ मा निर्देशक दिपक रौनियार आफ्नो छोटो फिल्म ‘चौकट’ लिएर कान्समा सहभागी भएका थिए भने ट्रान्सजेन्डर मोडेल अन्जली लामाले सन् २०१८ मा क्यान्समा क्याटवाक गरेकी थिइन् । कान्स फेस्टिभलमा उपस्थित हुन पाउनु सेलिब्रेटीका लागि ठूलो उपलिब्ध मानिन्छ ।
सुरक्षा पन्तले फ्रान्सबाट फर्किएपछि फिल्म ‘के घर के डेरा’को छायांकन सुरु गर्नेछिन् । सोमवारबाट यो फिल्मको छायांकन सुरु भइसकेको छ । कान्समा यसपटक नेपाली फिल्मले पनि भाग लिएको छ । अविनाशविक्रम शाही निर्देशित फिल्म ‘लोरी’ कान्समा प्रतिस्पर्धा गर्दैछिन् । कान्समा फिल्म ‘टप गन’को स्क्रिनिङका लागि हलिउड अभिनेता टप क्रुज पनि उपस्थित हुने बताइएको छ ।

