.jpg)
यही जेठ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक भएको छ । सोमवार यूट्युबमा सार्वजनिक गरिएको ‘बसन्’ बोलको वियोगान्त गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट फिचर्ड छन् । गीतमा उनीहरुको प्रेम वियोगलाई देखाइएको छ ।
विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय रहेको फिल्मको अमेरिकाको एलएमा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको हो ।
फिल्मलाई अभिनेता ब्यास आफैंले निर्माण गरेका हुन् । यो उनको पहिलो निर्माण अनुभव हो । दीपक वली एसोसियट निर्देशक रहेको फिल्मको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् भने भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालले सम्पादन गरेका हुन् । निर्माता ब्यासका अनुसार, फिल्मले अमेरिका प्रदर्शनबाट ८० प्रतिशत लगानी उठाइसकेको छ ।

