
फिल्म निर्देशक हेम लामाको निधन भएको छ । स्वास्थ्यमा आएको समस्याका कारण दुई हप्तादेखि काठमाडौंस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतवार दिउँसो निधन भएको हो । सोमवार लामाको पार्थिव शरीरलाई उनकै निवास बालुवाटारमा अन्तिम श्रद्धाञ्जलीका राखिने र सोही दिन बौद्ध धर्मअनुसार स्वयम्भुनाथ घाटमा अन्त्येष्टि गरिने जानकारी प्राप्त छ ।
लामाले पहिलो पटक फिल्म ‘आदर्श नारी’को निर्देशन गरेका थिए । यो फिल्मले थुप्रै कलाकारलाई ब्रेक दिएको थियो । अभिनेता विजय लामाले यही फिल्मबाट डेब्यु गरेका थिए भने अभिनेत्री सन्नी रौनियार, हनी रौनियार, अंशुमाला शाही, मोहन निरौला, उज्जल घिमिरे, संगीतकार मदन परियारले यही फिल्मबाट ब्रेक पाएका थिए । फिल्ममा लामाकै कथा, पटकथा तथा संवाद रहेको थियो ।
२०७७ सालमा नेपाल चलचित्र निर्देशक समाजले लामालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो । निर्देशक लामा क्याप्टेन तथा अभिनेता विजय लामाका पिता हुन् । विजय लामाले पितालाई सम्झँदै फेसबुकमा लेखेका छन्, ‘बाउ तिमी बिना मलाई बस्ने बानी छैन, तिम्रो यादले निक्कै सताउने छ तर मलाई विश्वास छ तिमी जहाँ छौ खुशी छौ र तिम्रो खुशी नै मेरो खुशी हुनेछ ।’

