कोरोना महामारीयता अभिनेता दयाहाङ राई सर्वाधिक व्यस्त छन् । एउटा फिल्मको सुटिङ सकिए लगत्तै अर्को फिल्मको सुटिङ र केही दिन फुर्सद निस्किए प्रदर्शनको तयारीमा रहेको फिल्मको प्रचारमा हिँड्न उनलाई भ्याइनभ्याइ हुने गर्छ । हुनत, कोभिडअघि पनि उनको व्यस्तता यस्तै थियो । नियमित रुपमा फिल्मको सुटिङ हुन थालेपछि उनी एक दिन पनि फुर्सदले घरमा बसेका छैनन् ।
गत वर्षको कात्तिक अन्तिममा दयाहाङले फिल्म ‘कबड्डी ४’को छायांकन सकाएका थिए । यसपछि उनले मंसिरबाट फिल्म ‘गाउँ जाने बाटो’को छायांकन सुरु गरे । यसलगत्तै उनी फिल्म ‘२ नम्बरी’को छायांकनमा व्यस्त रहे । बैशाख २८ गते यो फिल्मको छायांकन सकाएर काठमाडौं फर्किएका उनी अब यही जेठ पहिलो साताबाट फिल्म ‘के घर के डेरा’को सुटिङमा व्यस्त हुँदैछन् ।
.jpg)
यो फिल्म छायांकनमा जानुअघि दयाहाङले जेठ १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी ४’को प्रचारका लागि समय निकालेका छन् । आइतवार उनी फिल्मकी अभिनेत्री मिरुना मगर, विजय बरालको साथमा ६ गतेसम्मका लागि देश दौडाहामा निस्किएका छन् । काठमाडौं फर्किएपछि उनले ‘के घर के डेरा’को छायांकन र ‘कबड्डी ४’को प्रचार एकसाथ गर्ने बताइएको छ ।
दयाहाङ मात्र होइन ‘कबड्डी ४’का अर्का मुख्य अभिनेता सौगात मल्ल पनि उस्तै व्यस्त छन् । हालै फिल्म ‘२ नम्बरी’को छायांकन सकेर काठमाडौं फर्किएका उनको पाइपलाइनमा अझै तीनवटा फिल्म रहेको जानकारी प्राप्त छ । दुवै नायक अत्याधिक व्यस्त हुँदा ‘कबड्डी ४’को प्रचार कछुवाको गतिमा भइरहेको छ । जसको असर बक्सअफिसमा देखिन सक्ने कतिपयको विश्लेषण छ ।
जेठ २ गते दमकबाट सुरु हुने फिल्मको प्रचार अभियान ३ गते इटहरी, ४ गते नारायणघाट, ५ गते बुटवल र ६ गते पोखरा पुगेर सकिनेछ । मोफसल यात्रामा फिल्मका कलाकारहरुले पत्रकार सम्मेलनसँँगै दर्शकहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने बताइएको छ । हिट फिल्मको अन्तिम सिरिज भएकाले ‘कबड्डी ४’को दर्शकहरुमा ठूलो प्रतिक्षा छ । फिल्मको ‘केशरी’ गीत हिट भइसकेको छ ।
रामबाबु गुरुङले निर्देशनमा तयार भएको फिल्ममा बुद्धि तामाङ, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको पनि अभिनय छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । निमेश श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शैलेन्द्र डि. कार्कीले छायांकन गरेका हुन् ।

