पेशाले इन्जिनियर हुन्, ब्यास बिस्सु । नेपाल घर बन्दीपुर भिमाद रहेका उनले विगत १८ वर्षदेखि अमेरिकालाई कर्मथलो बनाएका छन् । अध्ययनको शिलशिलामा अमेरिका छिरेका उनले केही वर्षयता अमेरिकाको विभिन्न राज्यमा नेपाली फिल्मको प्रदर्शनदेखि विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । यसैले फिल्म क्षेत्र र फिल्मकर्मीसँग उनको नजिकको सम्बन्ध छ ।
उनै, ब्यासले पहिलो पटक फिल्म निर्माण गरेका छन्, ‘लाइफ इन एलए’ । जेठ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा उनी स्वंमको मुख्य भूमिका छ । उनी यो फिल्म आफूले इन्डस्ट्री बझ्नका लागि बनाएको बताउँछन् । उनी भन्छन्, ‘यो फिल्म चल्नु इन्डस्ट्रीका लागि पनि राम्रो कुरा हुन्छ । हामी फिल्म इन्डस्ट्रीमा नयाँ हौं । इन्डस्ट्री बुझ्नका लागि पनि मैले यो फिल्म बनाएको हुँ ।’
.jpg)
‘लाइफ इन एलए’ले अमेरिकाको कथा उठान गरेकाले नेपालभन्दा पहिला अमेरिकाको विभिन्न राज्यमा फिल्मको प्रदर्शन गरिएको उनले जानकारी दिए । फिल्मले अमेरिकामा बस्ने ९९ प्रतिशत नेपालीको वास्तविक कथालाई भनेको उनको भनाई छ । फिल्मको कथा आफ्नो जीवनसँग पनि मिल्ने ब्यास बिस्सु बताउँछन् । फिल्मले अमेरिका कस्तो छ भनेर गहिराइमा देखाएको उनले बताए ।
‘म अमेरिका ब्याचलर पढ्न गएको थिएँ । विद्यार्थीबाट अमेरिका बसाई सुरु भएपछि कम्पनीमा काम पाइन्छ । कम्पनीले एचओभी नगरेपछि कि नेपाल फर्किनु पर्छ नभए कलेज ज्वाइन गर्नुपर्छ । त्यसपछि ग्रिनकार्डको दौडधुप सुरु हुन्छ । अमेरिका गएपछि कति नेपाली वर्षौं नेपाल आउन पाउँदैनन् । उनीहरु किन नेपाल आउन सक्दैनन् त ? फिल्ममा यसलाई पनि देखाएका छौं,’ उनले भने ।
अमेरिकामा भएको प्रदर्शनमा फिल्मले राम्रो प्रतिक्रिया पाएकाले अब आफू नेपालमा दर्शकको प्रतिक्रिया जान्न आतुर रहेको ब्यास बताउँछन् । ‘अमेरिकाका विभिन्न राज्यमा हामीले फिल्मको शो गर्यौं । सबै शोमा उल्लेख्य मात्र नेपालीहरु उपस्थित हुनुभएको थियो,’ उनले अगाडि भने, ‘अमेरिकाबाट फिल्मको ८० प्रतिशत लगानी उठिसकेको छ । नेपालमा पनि राम्रो हुनेमा विश्वस्त छु ।’
सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा ब्यासका अलावा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको फिल्मको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् ।

