.jpg)
बैशाख ३० गते (भोली) आगामी ५ वर्षका लागि स्थानीय तहको निर्वाचन हुँदैछ । आफूलाई मन परेको उम्मेदवारलाई भोट हाल्नका लागि देशभरबाट ठूलो संख्यामा मानिसहरु गाउँ-घर फर्किएका छन् । सधैं भीडभाड र कोलाहाल रहने काठमाडौं समेत दशैं-तिहारको बेला जस्तै सुनसान छ । जसले गर्दा मंगलवारदेखि काठमाडौंका हलहरुमा फिल्म हेर्ने दर्शकको चाप खासै राम्रो छैन ।
सरकारले निर्वाचनको दिन सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरेकाले भोली हलहरु पनि बन्द हुने भएका छन् । काठमाडौंसहितका मल्टीप्लेक्सहरुले आफ्नो वेबसाइटमा बैशाख ३० गते हल बन्द हुने सूचना राखिसकेका छन् । निर्वाचनको अघिल्लो दिन (आज) मल्टीप्लेक्सहरुले सीमित शो मात्र चलाउने भएका छन् । हलहरु शनिवार (बैशाख ३१) बाट भने नियमित सञ्चालनमा आउनेछन् ।
.jpg)
अहिले हलमा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज २’, दुई साउथ फिल्म ‘केजीएफ २’ र ‘आरआरआर’, दुई बलिउड फिल्म ‘रनवे ३४’ र ‘हिरोपन्ती २’ र तीन नेपाली फिल्म ‘ए मेरो हजुर ४’, ‘षट्कोण’ र ‘लक्का जवान’ प्रदर्शनरत छन् । शनिवारबाट बलिउड फिल्म ‘जयेशभाई जोरदार’ प्रदर्शनमा आउँदैछ भने निर्वाचनका कारण यो हप्तालाई कुनै नेपाली फिल्मले प्रदर्शन मिति तोकेका छैनन् ।

