अभिनेता राजेश हमालले चार वर्षको विश्रामपछि साइन गरेको फिल्म हो, ‘सत्यम्’ । दोस्रो चरणको बन्दाबन्दीमा फिल्म साइन गरेर उनी स्क्रिप्टमा समेत आफैं बसेका थिए । फिल्मको चरित्रमा आफूलाई ढाल्न उनले लुक्स परिवर्तनदेखि शरीर सुगठित बनाउन पनि मेहेनत गरे । तर, कोरोना महामारी लम्बिँदै गएपछि फिल्म निर्माण धकलियो । केही समयदेखि फिल्म नबन्ने चर्चा चलिरहेको छ ।

तर, निर्माण टिमले ‘सत्यम्’को बारेमा अन्योल चिर्न लिरिकल भिडियो गीत सार्वजनिक गरेको छ । मंगलवार यूट्युबमा शिर्ष गीत सार्वजनिक गर्दै फिल्म निर्माण हुने जानकारी गराइयो । गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको शब्द र कुटुम्ब ब्याण्डको म्युजिक छ । राकेश दाहालले सम्पादन गरेको भिडियोमा हमालको स्केचसँगै उनले बोलको संवादलाई पनि स्थान दिइएको छ ।
निर्माता रेशम सापकोटाले फिल्मका मुख्य अभिनेता पल शाह थुनामा रहेकाले छायांकनमा निस्कन ढिलाई भएको जानकारी दिए । तर, बजारमा चलेको हल्ला जस्तो फिल्म निर्माण नहुने कुरामा सत्यता नभएको उनको भनाई छ । पल रिहा भए लगत्तै फिल्मको छायांकन सुरु हुने उनले बताए । उनी नछुटेको अवस्थामा भने नयाँ हिरोमा लिएर छायांकन थालनी गर्ने तयारीमा निर्माण टिम छ ।
निर्माता सापकोटाले गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताए । उनले भने, ‘प्रि–प्रोडक्सनको काम लगभग सकिएको छ । हामीले गीतको भिडियोमा टिमका म बाहेक अरु सदस्यको नाम नराख्नुमा आफ्नै कारण छ ।’ भिडियोमा निर्देशक शंकर कार्कीको नाम उल्लेख छैन । जसले गर्दा उनले फिल्म छाडेको हुनसक्ने बुझ्न सकिन्छ ।
फिल्ममा हमाल र पलसँगै अनुपविक्रम शाही र उपासना सिंह ठकुरी पनि फाइनल छन् । पल थुनामुक्त भए भने हमाल र शाहले पहिलो पटक एकसाथ काम गर्नेछन् । गत मंसिरबाट छायांकन सुरु गर्ने तयारीसहित एक्सन सिन खिच्न पोखरामा भव्य सेट खडा गरिएको थियो । प्रि-प्रोडक्सनमा ठूलो खर्च भइसकेको फिल्मलाई मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा खिचिने बताइएको छ ।

