.jpg)
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा स्टारर फिल्म ‘सम्झना बिर्सना’को रिलिज पोस्टपोन्ड भएको छ । यो फिल्म आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । प्रचार-प्रसारका लागि समय अभाव भएको र यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको माहोललाई मध्यनजर गर्दै निर्माण टिमले पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शन नगर्ने निर्णय गरेको हो ।
मंगलवार दिउँसो ४ बजे फिल्मको शिर्ष गीत सार्वजनिक गर्ने तयारी गरिएको थियो । तर, वितरक र निर्माताबीच तत्काललाई फिल्मको प्रदर्शन मिति स्थगन गर्ने सहमति भएपछि अब नयाँ प्रदर्शन मितिसहित गीत सार्वजनिक गरिने निर्देशक निमेष प्रधानले जानकारी दिए । ‘सम्झना बिर्सना’को रिलिज रोकिएसँगै जेठ ६ मा रिलिज हुने फिल्म ‘लाइफ इन एलए’लाई राहत मिलेको छ ।
दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । पूजा र आकाशका अलावा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेको यो फिल्म आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।
कोरोना महामारीभन्दा अगाडि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको यस फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको नृत्य निर्देशन रहेको छ । शिशिर राणा र निमेष प्रधानले फिल्मको संवाद तयार पारेका हुन् । ‘सम्झना बिर्सना’लाई आकाश र विशेषगरी पूजा शर्माको स्टारडमको वास्तविक परीक्षाको रुपमा हेरिएको छ ।

