हिन्दी फिल्म इन्डस्ट्री र साउथ इन्डस्ट्रीबीच भाषा विवाद चर्किरहेको समयमा तेलुगू सुपरस्टार महेश बाबुले भने बलिउड प्रवेशलाई लिएर आफ्नो धारणा राखेका छन् । हालै फिल्म ‘मेजर’को ट्रेलर रिलिज कार्यक्रममा उनले हिन्दी फिल्ममा काम गरेर समय बर्बाद गर्न नचाहने बताए । बलिउडले आफूलाई अफोर्ड (धान्न) गर्न नसक्ने र आफूलाई काम गर्ने इच्छा पनि नरहेको उनको भनाई छ ।
उनले भने, ‘मलाई बलिउड फिल्मबाट अफर नमिलेको होइन, तर बलिउडले मलाई अफोर्ड गर्न सक्छ जस्तो लाग्दैन । म हिन्दी फिल्ममा काम गरेर आफ्नो समय बर्बाद गर्न पनि चाहन्नँ । मलाई मेरो साउथ इन्डस्ट्रीमा जुन स्टारडम र मान-सम्मान मिलेको छ, त्यसबाट खुशी र सन्तुष्ट छु । यसकारण म कहिल्यै साउथ इन्डस्ट्री छाडेर बलिउड इन्डस्ट्रीमा काम गर्ने विषयमा सोच्न सक्दिनँ ।’
आफ्नो उद्देश्य पेन इन्डिया स्टारको रुपमा प्रस्तुत हुनु नभइ साउथ फिल्मलाई पूरै भारतमा सफल बनाउनु रहेको उनको भनाई छ । ‘म सधैं तेलुगू फिल्ममा काम गर्न चाहन्थेँ र यसलाई पूरै भारतले देखोस् भन्ने चाहन्थेँ । अब विस्तारै यो पूरा भइरहेको छ,’ उनी अगाडि भन्छन्, ‘मेरो ताकत तेलुगू फिल्म हो । अहिले यसले बलिउड, टलिउडको सीमारेखा मेटेर भारतीय सिनेमा बनाएको छ ।’
महेश अभिनीत नयाँ फिल्म ‘सरकारू वारी पेटला’ मे १२ मा प्रदर्शनमा आउँदैछ । यो फिल्म प्रदर्शनपछि उनी निर्देशक एसएस राजामौलीसँग एक एड्भेन्चर थ्रिलर फिल्ममा काम गर्ने तयारीमा छ । बाल कलाकारको रुपमा अभिनय करिअर सुरु गरेका महेश अहिले तेलुगूका ठूला स्टारमा गनिन्छन् । उनी एक फिल्ममा काम गर्नका लागि ५५ करोडसम्म पारिश्रमिक बुझ्ने गरेको बताइन्छ ।

