
फिल्म ‘शोले’मा गब्बरको चरित्र निर्वाह गरेर दर्शकको मनमा अमिट छाप बनाएका अमजद खानले पर्दामा नकारात्मक भूमिका निर्वाह गरे पनि वास्तविक जीवनमा उनले कयौं उतार-चढावको सामना गर्नुपर्यो । एक समय उनले पैसा नहुँदा डेलिभरीपछि श्रीमती र छोरालाई डिस्चार्ज गर्न सकेका थिएनन् । त्यसबेला निर्माता चेतन आनन्दले अस्पतालको सम्पूर्ण पैसा तिरिदिएका थिए ।
अमजदले जुन दिन ‘शोले’ साइन गरेका थिए, त्यही दिन उनका छोराको जन्म भएको थियो । टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै उनका छोरा शादाबले भनेका छन्, ‘जुन दिन मेरो जन्म भयो त्यसबेला पितासँग पैसा थिएन । जसले गर्दा उहाँले हामीलाई अस्पतालबाट डिस्चार्ज गर्न सक्नुभएन । यो देखेर मेरी आमा रुन थाल्नुभयो अनि पिता लाजले अस्पताल नै आउन सक्नुभएन ।’
निर्माता चेतन आनन्दले चार सय रुपैयाँ दिएपछि पिताले आफूहरुलाई अस्पतालबाट डिस्चार्ज गरेको शादाबले बताएका छन् । ‘शोले’का लागि गब्बर सिंहको रोल अमजदभन्दा पहिला डेनी डेङजोम्पालाई अफर गरिएको थियो । तर, उनले व्यस्तताका कारण फिल्ममा काम गर्न नसकेपछि लेखक सलीम खानको सिफारिसमा निर्देशक रमेश सिप्पीले अमजद खानलाई कास्ट गरेका थिए ।
२७ जुलाई १९९२ मा हार्ट अट्याकबाट मुम्बईमा अमजद खानको निधन भएको थियो । एक दुर्घटनापछि उनको लगातार वजन बढ्दै गएको थियो र त्यही उनको निधनको कारण बन्यो । सन् १९८६ मा मुम्बईबाट गोवा जाने क्रममा उनको दुर्घटना भएको थियो । दुर्घटनापछि उनलाई सीरियस इन्जरी भएको थियो र उनी केही समय कोमामा समेत गएका थिए । तर, उनी चाँडै निको भए ।

