अभिनेत्री शिल्पा मास्केले हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ र ‘मिसन इम्पोसिबल फलआउट’मा सानो भूमिका निर्वाह गर्दै अभिनय करिअर सुरु गरेकी थिइन् । उनको पहिलो नेपाली फिल्म भने ‘द ब्रेकअप’ थियो । यसपछि ‘कागजपत्र’, ‘सानो मन’, ‘कठपुतली’ लगायतका फिल्ममा अभिनय गरिसकेकी उनको नयाँ फिल्म ‘लाइफ इन एलए’ आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।
तीनवटा नेपाली फिल्ममा सोलो अभिनेत्रीको रुपमा अभिनय गरेकी शिल्पाले अचेल सानोतिनो भूमिकामा पनि काम गर्दै आएकी छन् । गत पुषमा रिलिज भएको फिल्म ‘कठपुतली’मा उनले ४६ सेकेण्ड मात्र स्क्रिन स्पेश पाएकी थिइन् । ‘लाइफ इन एलए’मा पनि उनको रोल खासै लामो छैन । ७० प्रतिशत अमेरिकामा खिचिएको फिल्मको ३० प्रतिशत हिस्सामा मात्र उनी देखिनेछिन् ।
.jpg)
उनी आफ्नो लागि फिल्ममा भूमिका सानो-ठूलोले अर्थ नराख्ने बताउँछिन् । उनी भन्छिन्, ‘फिल्ममा त्यो क्यारेक्टरले कति महत्त्व राख्छ भन्ने महत्त्वपूर्ण कुरा हो । संसारमा ठूला स्टारहरुले पनि सानो रोलमा काम गरेका छन् । म ‘कठपुतली’मा ४६ सेकेण्डमा देखिँदा पनि दर्शकले रुचाउनुभयो । ‘लाइफ इन एलए’मा मेरो भूमिका सानो भएपनि आफ्नोतर्फबाट सकेको मेहेनत गरेको छु ।’
यद्यपि, फिल्ममा रोल सानो-ठूलो जे भए पनि त्यसले कलाकारको करिअरमा अर्थ भने राख्ने उनको भनाई छ । ‘सानो रोल भए पनि ‘लाइफ इन एलए’ मेरो करिअरको एउटा हिस्सा थियो भनेर आउँछ नै । मैले आजसम्म जति पनि क्यारेक्टर गरेँ, त्यसमा आफ्नो तर्फबाट शतप्रतिशत दिएको छु भन्ने लाग्छ । ‘लाइफ इन एलए’मा पनि मेरो क्यारेक्टर दर्शकलाई भिन्न लाग्न सक्छ,’ उनले भनिन् ।
सूर्य एन श्रेष्ठ निर्देशित फिल्ममा शिल्पासँगै ब्यास बिस्सु, अकेशा विष्ट, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् भने भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालले मिलेर सम्पादन गरेका हुन् ।

