.jpg)
अभिनेत्री वर्षा सिवाकोटी यही बैशाख ९ गते विवाह बन्धनमा बाँधिइन् । उनले अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग लगनगाँठो कसेकी हुन् । वर्षाको विवाहको बारेमा फिल्म क्षेत्रका कसैलाई पनि जानकारी थिएन । न त उनले फिल्म क्षेत्रबाट कसैलाई विवाहमा निमन्त्रणा नै गरेकी थिइन् । दुई परिवारका सीमित सदस्यहरुको उपस्थितिमा उनीहरुको विवाह भएको थियो ।
विवाहको दुई दिनपछि वर्षा श्रीमानको साथमा हनिमुनका लागि पोखरा प्रस्थान गरेकी थिइन् । पोखराबाट फर्किए लगत्तै उनका श्रीमान् अमेरिका फर्किसकेका छन् । अब वर्षाले पनि श्रीमानसँगै अमेरिका बस्ने मनसाय बनाएकी छन् । शनिवार इन्स्टाग्राममा एक फ्यानले ‘अब नेपालमै बस्ने होकि अमेरिका ?’ भनेर सोधेको प्रश्नमा उनले ‘श्रीमान् जहाँ म पनि त्यहीँ’ भन्ने जवाफ फर्काएकी छन् ।
अर्का एक फ्यानले गोप्य रुपमा विवाह गर्नुको कारणबारे सोधेको प्रश्नमा उनले यो आफूहरु दुवैको इच्छा रहेको बताइन् । उनले आफूहरुको विवाह लभ र एरेन्ज दुवै रहेको पनि जानकारी दिएकी छन् । एक फ्यानले हनिमुनको बारेमा सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘हाम्रो हनिमुन सुरु भइसकेको छैन । विवाहपछि हामी पोखरा गएका थियौं । तर, वास्तविक हनिमुन भने बाँकी छ ।’
बिहेका कारण वर्षाले शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘लक्का जवान’को प्रसारमा समेत समय दिन पाएकी थिइनन् । श्रीमान् अमेरिका उडेपछि भने उनी फिल्मका हरेक गतिविधिमा सहभागी भएकी छन् । उनी अभिनीत ‘ए साथी सुन्’ र ‘परदेशी २’ फिल्म पनि प्रदर्शनको पखाईमा छ । वर्षाको हातमा फिल्म नटुटे पनि उनले लिड रोलमा अभिनय गरेका अधिकांश फिल्म असफल छन् ।

