.jpg)
बैशाख १ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ र साउथ फिल्म ‘केजीएफ २’को बक्सअफिसमा प्रभाव कम हुन थालेपछि शुक्रवारबाट दुई नेपाली फिल्म ‘षट्कोण’ र ‘लक्का जवान’ प्रदर्शनमा आएका छन् । यी दुवै फिल्म फरक जनरामा निर्माण भएका हुन् । ‘षट्कोण’ साइकोलोजी थ्रिलर जनरामा आधारित छ भने ‘लक्का जवान’ कमेडी विषयवस्तुमा बनेको हो ।
सिंगल थिएटर सन्तोषजनक पाएका यी दुई नेपाली फिल्मले शुक्रवारबाटै रिलिज भएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज-२’का कारण मल्टीप्लेक्समा उल्लेख्य शो पाउन सकेका छैनन् । यो हलिउड फिल्मले मल्टीप्लेक्समा एकलौटी कब्जा जमाएको छ । एडभान्स बुकिङ आक्रामक रहेको ‘डक्टर स्ट्रेन्ज २’का कारण ‘षट्कोण’ र ‘लक्का जवान’लाई लगानी उठाउन ठूलो संघर्ष गर्नुपर्ने देखिन्छ ।
एक मर्डर मिस्ट्रीको अनुसन्धान गरिरहेको पत्रकारको कथामा निर्माण भएको ‘षट्कोण’लाई मिलन डि काप्रिले निर्देशन गरेका हुन् । फिल्ममा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् ।
‘लक्का जवान’लाई भने हाँस्य कलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन् । अन्सुया श्रेष्ठले निर्माण गरेको फिल्ममा शिवहरीसँगै मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय रहेको छ ।

